

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सुधार गर्नका लागि ऐन नै संशोधन गरेर अघि बढ्नुपर्ने बताएका छन्। आइतवार मन्त्रालयमा आयोजित सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
सचिव देवकोटाले स्वास्थ्य बीमा क्षेत्रमा सर्वसाधारणका तर्फबाट देखिएका र सुनिएका गुनासोहरूलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने अवस्था आइसकेको तर्फ जोड दिए। मिडियामा आएका विषय र मन्त्रालयले हालै गरेका निर्णयहरूका आधारमा कतिपय सुधारका कामहरू तुरुन्तै अगाडि बढाउनुपर्ने र यसका लागि नीतिगत स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो। आगामी साउन १ गतेदेखि नै कसरी क्याबिनेट (मन्त्रिपरिषद्) मा प्रस्ताव लगेर यसलाई व्यवस्थित रूपमा अगाडि बढाउने भन्नेबारे आफूले गृहकार्य गरिरहेको उनले जानकारी दिए।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको दाबी गर्दै सचिव देवकोटाले यस पटकको बजेटमा सरकारको प्राथमिकता प्रष्ट रूपमा झल्किएको जिकिर गरे। चालू आर्थिक वर्षबाहेक विगतका वर्षहरूमा स्वास्थ्य बीमाका लागि साढे ७ अर्ब रुपैयाँ मात्र बजेट विनियोजन हुने गरेकोमा आगामी आर्थिक वर्षका लागि सरकारले यसलाई दोब्बर बनाउँदै १५ अर्ब रुपैयाँ पुर्याएको उनले स्पष्ट पारे। बजेट दोब्बर भएकाले अबको दिनमा स्वास्थ्य बीमा कार्यक्रमको सुधारमा ठुलो फड्को मार्ने अवस्था सिर्जना भएको उनको दाबी छ।
यसैबिच, सचिव देवकोटाले आम नागरिकको मौलिक हकका रूपमा रहेको आधारभूत स्वास्थ्य सेवालाई थप सुदृढ बनाउने सरकारी योजनाबारे पनि प्रकाश पारे। उनले आगामी ३ वर्षभित्र देशका सम्पूर्ण आम नागरिकसम्म आधारभूत स्वास्थ्य सेवाको सहज र समान पहुँच पुर्याउने गरी सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको प्रतिबद्धता समेत व्यक्त गरे।


