

काठमाडौं- स्वास्थ्य तथा खाद्य मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम ग्रुपका औषधि तथा सलाइनको आपूर्ति र खपतसम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित पैठारीकर्तालाई पुनः निर्देशन दिएको छ।
विभागले जारी गरेको सूचनाअनुसार नेपालमा आयात हुने प्लाटिनम ग्रुपका क्यान्सर औषधि तथा सरकारद्वारा अत्यावश्यक औषधिको सूचीमा समावेश विभिन्न सलाइनको उद्गम मुलुकअनुसारको मूल्य विवरण, पछिल्ला तीन आर्थिक वर्षको खपत तथ्याङ्क र आगामी आर्थिक वर्षको अनुमानित आवश्यकता (प्रोजेक्सन प्लान) पेश गर्न भनिएको छ।
यसअघि विभागले जेठ १ गते सम्बन्धित आयातकर्तालाई तीन दिनभित्र आवश्यक विवरण बुझाउन पत्राचार गरेको थियो। तर केही पैठारीकर्ताले हालसम्म विवरण नबुझाएकाले पुनः सार्वजनिक सूचना जारी गर्नुपरेको विभागले जनाएको छ।
विभागले दर्ता भएर पनि आयात नभएका औषधिको हकमा आयात नहुनुको कारण खुलाएर दुई दिनभित्र विवरण पेश गर्नसमेत निर्देशन दिएको छ।
यसैबीच, औषधि आपूर्ति व्यवस्थापनमा देखिएका समस्याबारे बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीलगायतका अधिकारीसँग छलफल गरेकी थिइन्।
मन्त्रालयका अनुसार बैठकमा क्यान्सर उपचारसहित जीवनरक्षक औषधिको आपूर्तिमा देखिएको असहजता, प्राप्त गुनासाहरू तथा समाधानका सम्भावित उपायबारे विस्तृत समीक्षा गरिएको थियो।
छलफलमा आयात तथा आपूर्तिको अनुमति लिएर पनि बजारमा औषधि उपलब्ध नगराउने आयातकर्ता वा आपूर्तिकर्तामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि जोड दिइएको थियो। साथै, वैकल्पिक आपूर्ति व्यवस्थाको स्पष्ट कार्ययोजना तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
मन्त्रालयले जीवनरक्षक औषधि आयातको अनुमति प्राप्त कम्पनीहरूको अद्यावधिक सूची, पछिल्ला तीन वर्षको आयात विवरण, वार्षिक खपत तथ्याङ्क तथा नयाँ आपूर्तिकर्ताबाट प्राप्त आवेदनसम्बन्धी विवरण व्यवस्थित रूपमा संकलन गर्न विभागलाई निर्देशन दिएको छ।


