

काठमाडौं- सरकारले सातामा दुई दिन सार्वजनिक बिदा लागू गरेपछि सरकारी अस्पतालहरूमा बिरामीको चाप उल्लेख्य रूपमा बढ्न थालेको छ। शनिबार र आइतबार ओपीडी सेवा बन्द हुँदा सोमबार अस्पतालहरूमा अत्यधिक भीड हुने गरेको चिकित्सक तथा अस्पताल प्रशासनको भनाइ छ।
देशकै पुरानो वीर अस्पतालमा सोमबार अन्य दिनको तुलनामा धेरै बिरामी आउने गरेका छन्। अस्पतालका उपसचिव हरी पंगेनीका अनुसार सामान्यतया दैनिक करिब चार हजार बिरामी आउने भए पनि सोमबार यो संख्या बढेर करिब ४ हजार ३ सय पुग्ने गरेको छ। बिरामीको चाप व्यवस्थापन गर्न अस्पतालले टिकटमा लागू गरिएको कोटा प्रणाली हटाएको उनले बताए।
पंगेनीका अनुसार निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा सीमित भएपछि वीर अस्पतालमा बीमामार्फत उपचार लिन आउने सेवाग्राहीको संख्या पनि बढेको छ। वीर अस्पतालले सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ओपीडी सेवा सञ्चालन गर्दै आएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भने रेबिजविरुद्धको खोप सेवालाई ध्यानमा राख्दै आइतबार पनि अत्यावश्यक ओपीडी सञ्चालन गरिरहेको छ। अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार आइतबार मात्रै करिब ८ सय जना रेबिजविरुद्धको खोप लगाउन अस्पताल पुग्ने गरेका छन्। अस्पतालमा दैनिक करिब १ हजार ३ सय बिरामीले सेवा लिने गरेका छन्।
यता, राष्ट्रिय ट्रमा सेन्टरमा पनि बिरामीको चाप बढेको छ। ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीका अनुसार दैनिक औसत ३ सय ८५ सेवाग्राही उपचारका लागि आउने गरेका छन्। “चाप बढेको छ, तर उपलब्ध जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गरेर सेवा दिइरहेका छौं,” उनले भने।
निजामती कर्मचारी अस्पतालले पनि बिरामीको बढ्दो चापलाई ध्यानमा राख्दै चिकित्सकले हेर्ने नयाँ बिरामीको संख्या बढाएको छ। अस्पतालकी सूचना अधिकारी रञ्जना नेपालका अनुसार यसअघि एक चिकित्सकले दैनिक ३० जना नयाँ बिरामी हेर्ने व्यवस्था रहेकामा अहिले ३५ जना पुर्याइएको छ। अस्पतालमा दैनिक एक हजारदेखि ११ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्।
सरकारले दुई दिने सार्वजनिक बिदा लागू गरेपछि शनिबार र आइतबार अधिकांश सरकारी अस्पतालका ओपीडी सेवा बन्द रहने व्यवस्था गरिएको छ। यद्यपि अन्तरङ्ग तथा आकस्मिक सेवा भने नियमित सञ्चालनमा छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदाका दिनमा पनि आकस्मिक र अन्तरङ्ग सेवा निरन्तर सञ्चालन गर्न तथा आवश्यक परे बिरामीलाई उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न निर्देशन दिएको छ। तर अस्पतालहरूमा बढ्दो बिरामी चापका कारण सेवाग्राहीले अझै सहज र छिटो सेवा पाउन नसकेको गुनासो गर्दै आएका छन्।


