

काठमाडौं- औषधी व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबिच औषधि आपूर्ति तथा व्यवस्थापनमा देखिएको असहजता र त्यसको समाधानका सम्बन्धमा छलफल भएको छ।
छलफलमा क्यान्सरविरुद्धका औषधी तथा इम्युनोसप्रेसन्ट (प्रतिरक्षा प्रणाली कमजोर हुने बिरामीलाई दिइने औषधी) लगायतका जीवनरक्षक औषधिआपूर्ति सम्बन्धी विभिन्न माध्यमबाट प्राप्त गुनासा र त्यसको वास्तविक अवस्थाबारे समीक्षा गरिएको थियो। साथै विद्यमान समस्या समाधानका उपायहरूबारे समेत विस्तृत छलफल भएको जनाइएको छ।
बैठकमा औषधि आपूर्तिको अनुमति प्राप्त भए पनि आपूर्ति नगर्ने आयातकर्ता वा आपूर्तिकर्ताहरूको अवस्थाबारे के–कस्ता विकल्प अपनाउन सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको थियो।
त्यस्तै, जीवनरक्षक औषधि आयात गर्ने अनुमति प्राप्त आयातकर्ताहरूको सूची, पछिल्ला तीन वर्षमा ती औषधिहरूको आयात मात्रा, प्रत्येक वर्षको खपत विवरण तथा आपूर्ति अनुमति माग गरी दर्ता भएका निवेदनहरूको विवरण उपलब्ध गराउन औषधी व्यवस्था विभागलाई निर्देशन दिइएको छ।
छलफलमा औषधि व्यवस्था विभागसँग सम्बन्धित सफ्टवेयर प्रणालीको सुधार तथा क्षमता विस्तार गर्ने, साथै वेबसाइटमा रहेका विवरणहरू नियमित रूपमा अद्यावधिक गर्ने विषयमा पनि जोड दिइएको थियो।
सरकारी पक्षले औषधिआपूर्ति प्रणालीलाई पारदर्शी, प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक सुधारात्मक कदम अघि बढाइने बताएको छ।


