

काठमाडौं- पछिल्ला पाँच वर्षमा मुलुकभर १ हजार ७ सय ५५ सरकारी स्वास्थ्य संस्था थप भएका छन्। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०८२ सम्म देशभर सरकारी स्वास्थ्य संस्थाको संख्या ८ हजार ९ सय ७६ पुगेको छ।
आर्थिक सर्वेक्षण २०७७ मा उक्त संख्या ७ हजार २ सय २१ रहेको थियो। फागुन २०८१ देखि फागुन २०८२ सम्म मात्रै २ सय ३० स्वास्थ्य संस्था थपिएको तथ्यांकमा उल्लेख छ।
हाल देशभर अस्पताल ४ सय २०, प्राथमिक स्वास्थ्य केन्द्र १ सय ८१, स्वास्थ्य चौकी ३ हजार ६ सय ३, आयुर्वेदिक औषधालय ४ सय २६ र अन्य स्वास्थ्य संस्था ४ हजार ३ सय ४६ रहेका छन्।
तुलनात्मक रूपमा २०७७ मा अस्पताल १ सय २५, प्राथमिक स्वास्थ्य केन्द्र २ सय ५, स्वास्थ्य चौकी ३ हजार ८ सय ७०, आयुर्वेदिक औषधालय ३ सय ९५ र उपस्वास्थ्य चौकी २ हजार ६ सय २६ वटा रहेका थिए।
सरकारले स्थानीय तहका सबै वडामा स्वास्थ्य संस्था पुर्याउने तथा आवश्यकताअनुसार ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने नीतिअनुसार स्वास्थ्य संरचना विस्तार भइरहेको जनाएको छ। हालसम्म १ सय २१ वटा आधारभूत अस्पताल निर्माण सम्पन्न भएका छन् भने ३ सय १३ वटा निर्माणाधीन अवस्थामा रहेका छन्।
आर्थिक सर्वेक्षणले स्वास्थ्य सूचकहरूमा पनि सुधार भएको देखाएको छ। मातृ मृत्युदर, नवजात शिशु मृत्युदर, शिशु मृत्युदर तथा ५ वर्षमुनिका बाल मृत्युदर घटेको उल्लेख छ।
सन् २००० अघि प्रतिलाख जीवित जन्ममा मातृ मृत्युदर ५ सय ३९ रहेकोमा हाल १ सय ५१ मा झरेको छ। नवजात शिशु मृत्युदर सन् २०११ मा प्रतिहजार ३३ रहेकोमा घटेर १७ पुगेको छ।
त्यस्तै, पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको दर ९२ प्रतिशत पुगेको छ। स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको संख्या ९० प्रतिशत पुगेको छ, जुन सन् २०११ मा ३५ प्रतिशत मात्र थियो।
कम्तीमा चार पटक गर्भ जाँच गराउने गर्भवती महिलाको दर पनि ५० प्रतिशतबाट बढेर ८८ प्रतिशत पुगेको सर्वेक्षणमा उल्लेख छ। शिशु मृत्युदर ४६ बाट घटेर २७ तथा ५ वर्षमुनिको बाल मृत्युदर ५४ बाट घटेर ३१ पुगेको तथ्यांकमा जनाइएको छ।


