

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले इबोला प्रकोप प्रभावित मुलुकहरूमाथि लगाइएका यात्रा प्रतिबन्ध र सीमा बन्दीको पुनर्विचार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।
डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको इटुरी प्रान्तस्थित बुनियामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक टेड्रोसले यस्ता प्रतिबन्धले रोग नियन्त्रण प्रयासलाई जटिल बनाउने मात्र नभई पारदर्शिता र आपसी विश्वासलाई समेत कमजोर बनाउन सक्ने बताए।
उनले ‘विश्वास र पारदर्शिता नै जीवन बचाउने आधार हुन्’ भन्दै इबोला प्रभावित क्षेत्रप्रति अपनाइएका यात्रा तथा सीमा नीतिको पुनः मूल्याङ्कन आवश्यक रहेको उल्लेख गरे।
टेड्रोसका अनुसार इबोलाविरुद्ध पूर्ण रूपमा स्वीकृत खोप वा प्रभावकारी औषधिको पहुँच अझै सीमित भए पनि समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन सके धेरै बिरामी निको हुने सम्भावना रहन्छ।
उनले बुनिया भ्रमणको उद्देश्य प्रभावित समुदायसँग प्रत्यक्ष संवाद गर्नु र प्रकोप नियन्त्रणका प्रयासको अवस्था बुझ्नु रहेको बताए। हाल उक्त क्षेत्रमा एक हजारभन्दा बढी शंकास्पद इबोला सङ्क्रमणका घटना रिपोर्ट भइसकेका छन्।
यसैबीच, युगान्डामा पनि इबोला सङ्क्रमणका नयाँ घटना पुष्टि भएका छन्। युगान्डाको स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी कम्पालामा दुई नयाँ संक्रमित फेला परेपछि देशमा पुष्टि भएका कुल सङ्क्रमितको संख्या नौ पुगेको छ।
कङ्गोका स्वास्थ्य मन्त्री रोजर काम्बाले आगामी चारदेखि छ महिनाभित्र इबोला प्रकोप नियन्त्रणमा ल्याउने लक्ष्य राखिएको बताएका छन्। उनका अनुसार इटुरी, उत्तर किभु र दक्षिण किभु प्रदेशमा संक्रमण सीमित राख्नु सरकारको मुख्य प्राथमिकता हो।
उनले परीक्षण क्षमतामा उल्लेखनीय सुधार भएको दाबी गर्दै प्रयोगशालामा परीक्षणको कुनै ठूलो चाप वा ढिलाइ नरहेको बताए। हालसम्म करिब ९ सय नमूना परीक्षण गरिएकोमा २ सय ६० हाराहारीमा संक्रमण पुष्टि भएको र दैनिक २ सयदेखि ३ सय नमूनासम्म परीक्षण गर्न सक्ने क्षमता विकास भएको जानकारी पनि उनले दिए।


