

काठमाडौं – सरकारले देशभर मेडिकल शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यसहित विभिन्न विश्वविद्यालयअन्तर्गत सञ्चालन भइरहेका चिकित्सा शिक्षाका कोटा बढाउने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मेडिकल शिक्षामा विद्यार्थी भर्ना कोटामा उल्लेख्य वृद्धि गरिने जानकारी दिए।
बजेट वक्तव्यअनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, महाराजगञ्जस्थित शिक्षण अस्पताललगायत प्रमुख मेडिकल शिक्षण संस्थालाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्रका रूपमा विकास गरिनेछ। साथै सातै प्रदेशमा मेडिकल शिक्षाको अवसर विस्तार गर्ने सरकारी योजना पनि बजेटमा समेटिएको छ।


