
काठमाडौं – अटोइम्युन रोगहरूको उपचारमा प्रयोग हुने ‘टोफासिटिनिब’ ट्याबलेटको बजार मूल्यमा अत्यधिक अन्तर देखिएपछि औषधि व्यवस्था विभागले चासो व्यक्त गरेको छ ।
विभागले जारी गरेको पत्रमार्फत एलोपेथिक औषधिका सम्पूर्ण आयातकर्ता तथा स्वदेशी उत्पादक कम्पनीहरूलाई एउटै जेनेरिक नाम र समान क्षमता भएका विभिन्न ब्रान्डका औषधिको मूल्यमा देखिएको अस्वाभाविक अन्तरबारे आवश्यक समीक्षा गर्न निर्देशन दिएको हो ।
विभागका अनुसार एउटै क्षमता भएको टोफासिटिनिब ट्याबलेटको १० वटा चक्कीमध्ये एक कम्पनीको मूल्य २९० रुपैयाँ रहेको छ भने अर्को कम्पनीको मूल्य ७०० रुपैयाँसम्म पुगेको पाइएको छ । अर्थात् एउटै रोगको उपचारमा प्रयोग हुने औषधिमा ४१० रुपैयाँसम्मको मूल्य अन्तर देखिएको हो ।
विभागकी निमित्त महानिर्देशक शिवानी खड्काद्वारा जारी पत्रमा यस्तो मूल्य असमानताले उपभोक्ता हित, औषधिको पहुँच, निष्पक्ष बजार प्रतिस्पर्धा तथा नैतिक व्यावसायिक अभ्यासमा नकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ । विभागले उत्पादन लागत, गुणस्तर, जनस्वास्थ्य हित तथा जिम्मेवार व्यावसायिक अभ्यासलाई आधार मानी मूल्य समायोजन गर्न तथा अनावश्यक मूल्य अन्तर घटाई त्यससम्बन्धी विवरण यथाशीघ्र विभागमा पेश गर्न आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा पनि उक्त विषय चर्चामा आएको छ । एक फेसबुक प्रयोगकर्ताले “एउटै औषधि, एउटै जेनेरिक नाम र एउटै क्षमता हुँदा पनि किन यति धेरै मूल्य फरक ?” भन्दै प्रश्न उठाएका थिए । उनले स्वास्थ्य बीमालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारले स्वयं जेनेरिक औषधि उत्पादन गर्ने सरकारी औषधि उद्योग सञ्चालन गर्नुपर्ने धारणा समेत व्यक्त गरेका थिए ।
विशेषज्ञहरूका अनुसार टोफासिटिनिब रुमेटोइड आर्थराइटिस लगायत विभिन्न अटोइम्युन रोगहरूको उपचारमा प्रयोग हुने औषधि हो । यस्तो संवेदनशील औषधिमा ठूलो मूल्य अन्तर हुँदा बिरामीको उपचार पहुँचमा प्रत्यक्ष असर पर्ने सरोकारवालाहरू बताउँछन् ।


