
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले आवासीय चिकित्सकहरूलाई नियमविपरीत अत्यधिक समयसम्म ड्युटीमा खटाइँदा गम्भीर मानसिक तथा शारीरिक समस्या देखिएको भन्दै सम्बन्धित विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा शिक्षण अस्पतालहरूको ध्यानाकर्षण गराएको छ ।
काउन्सिलले जारी गरेको विज्ञप्तिमा विभिन्न शिक्षण संस्थामा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकलाई लगातार २४ देखि ३६ घण्टाभन्दा बढी ड्युटीमा खटाइने गरिएको गुनासो प्राप्त भएको जनाएको छ ।
काउन्सिलका अनुसार अत्यधिक कार्यबोझका कारण चिकित्सकहरूमा गम्भीर शारीरिक थकान, मानसिक तनाव, अवसाद तथा आत्महत्यासम्बन्धी सोचसम्मका समस्या देखिन थालेका छन् ।
विज्ञप्तिमा कतिपय शिक्षण संस्थाले पर्याप्त विश्रामको व्यवस्था नगरी लगातार लामो समयसम्म ड्युटीमा खटाउने गरेको पाइएको उल्लेख गरिएको छ । यसप्रति नेपाल मेडिकल काउन्सिलले गम्भीर चासो व्यक्त गरेको छ ।
काउन्सिलले नेपाल सरकारबाट स्वीकृत स्नातकोत्तर चिकित्सा शिक्षासम्बन्धी नियमावली–२०१७ अनुसार रेजिडेन्ट चिकित्सकलाई नियमित ड्युटी बाहेक सामान्यतया हप्तामा बढीमा दुई पटक मात्रै २४ घण्टाको ड्युटीमा खटाउन पाइने व्यवस्था रहेको स्पष्ट पारेको छ ।
यस नियमको मर्मविपरीत अत्यधिक कार्यबोझ दिनु उपयुक्त नहुने काउन्सिलको भनाइ छ । यस विषयमा विगतमा पनि चिकित्सा शिक्षा आयोगसँग समन्वय हुँदै आएको विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलका अनुसार पर्याप्त विश्रामबिना लगातार २४ देखि ३६ घण्टासम्म ड्युटी गर्दा चिकित्सकहरू चरम शारीरिक तथा मानसिक थकानको अवस्थामा पुग्ने गर्छन् । यस्तो अवस्थामा चिकित्सकको निर्णय क्षमता कमजोर हुन सक्ने र उपचार प्रक्रियामा गम्भीर त्रुटि हुने जोखिम बढ्ने भएकाले बिरामीको सुरक्षामै असर पर्ने चेतावनी दिइएको छ ।
त्यस्तै, नेपाल मेडिकल काउन्सिलको आचारसंहिता–२०१७ मा चिकित्सक शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनु अनिवार्य रहेको व्यवस्था रहेको काउन्सिलले स्मरण गराएको छ ।
काउन्सिलले सम्पूर्ण शिक्षण संस्था र अस्पताललाई रेजिडेन्ट चिकित्सकहरूको ड्युटी तालिका प्रचलित नियमअनुसार परिमार्जन गर्न निर्देशन दिएको छ । लगातार २४ घण्टाको आकस्मिक ड्युटीपछि अनिवार्य विश्रामको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
यस्तै, शिक्षण अस्पतालहरूले चिकित्सकहरूको मानसिक स्वास्थ्य र कार्यस्थलको वातावरण सहज बनाउन आवश्यक परामर्श तथा सहयोग संयन्त्रलाई सुदृढ बनाउनुपर्ने काउन्सिलको भनाइ छ ।
चिकित्सकको कार्यक्षमता उच्च राख्दै बिरामीलाई सुरक्षित र गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्न सबै सरोकारवाला निकायले जिम्मेवार भूमिका खेल्नुपर्ने अपेक्षासहित काउन्सिलले उक्त ध्यानाकर्षण पत्र जारी गरेको हो ।



