
धनगढी- सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरूमा रेबिज रोगविरुद्ध प्रयोग हुने सुइँको चरम अभाव भएको छ । नियमित आपूर्ति हुन नसक्दा विशेषगरी तराईका जिल्लास्थित सरकारी अस्पतालहरूमा रेबिज सुइँको संकट देखिएको हो ।
नेपाल सरकारले सरकारी अस्पतालमार्फत रेबिजविरुद्धको सुइँ निःशुल्क उपलब्ध गराउँदै आए पनि पछिल्लो एक–डेढ सातादेखि प्रदेशका अधिकांश अस्पतालमा उक्त सुइँ उपलब्ध छैन ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले विगत एक सातादेखि अस्पतालमा रेबिजको सुइँ सकिएको जानकारी दिए । यस्तै महाकाली अस्पतालका प्रवक्ता डा. अर्जुन भट्टले पनि चार–पाँच दिनदेखि रेबिज सुइँ अभाव रहेको बताए ।
गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत सञ्चालित शिक्षण अस्पतालमा पनि रेबिज सुइँ उपलब्ध छैन । अस्पतालका प्रवक्ता नैनसिंह कार्कीका अनुसार त्यहाँ पनि एक सातादेखि रेबिजविरुद्धको सुइँ सकिएको छ ।
गोदावरीस्थित मालाखेती अस्पतालमा भने डेढ सातादेखि रेबिज सुइँको अभाव रहेको छ । अस्पतालकी सूचना अधिकारी सुनिता बोहराका अनुसार वैशाख महिनामा मात्रै २६० जनाले रेबिज सुइँ लगाएका थिए । हाल सुइँ अभाव हुँदा दैनिकजसो बिरामी फर्काउनुपर्ने अवस्था रहेको उनले बताइन् ।
उनले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सुइँ माग गरिए पनि उपलब्ध हुन नसकेको जानकारी दिइन् ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी जयन्द्र बोगटीले केन्द्रमै स्टक सकिएकाले अस्पतालहरूमा आपूर्ति गर्न नसकिएको बताए । उनका अनुसार करिब २० दिनअघि नै केन्द्रको स्टक समाप्त भएको हो ।
बोगटीले रेबिज सुइँको मुख्य खरिद तथा आपूर्ति जिम्मा संघीय सरकारको भए पनि पर्याप्त आपूर्ति नभएपछि प्रदेश सरकारले पनि छुट्टै कार्यक्रममार्फत खरिद गरेको बताए ।
‘प्रदेश सरकारले ७० लाख रुपैयाँ विनियोजन गरेर टेन्डरमार्फत १६ हजार भाइल खरिद गरेको थियो,’ उनले भने, ‘त्यो सबै सकिएपछि अहिले अभाव भएको हो ।’
उनका अनुसार प्रदेशमा वार्षिक ४५ हजारभन्दा बढी भाइल रेबिज सुइँ आवश्यक पर्ने गर्दछ । संघीय स्तरमा खरिद प्रक्रिया ढिलाइ हुँदा नियमित आपूर्ति अवरुद्ध भएको जानकारी प्राप्त भएको उनले बताए ।
बोगटीका अनुसार संघीय सरकारले सम्बन्धित निकायलाई आवश्यक परे आन्तरिक स्रोतबाट खरिद गरेर व्यवस्थापन गर्न परिपत्रसमेत गरेको छ । तर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग तत्काल खरिद गर्न पर्याप्त बजेट नभएकाले समस्या समाधान हुन सकेको छैन ।
उनले पहाडी जिल्लाका केही अस्पतालमा सीमित स्टक हुन सक्ने भए पनि तराईका जिल्लामा भने रेबिज सुइँको अवस्था अत्यन्तै कमजोर रहेको बताए ।
जनावरमा लाग्ने रेबिज रोग कुकुर वा बिरालोले टोकेपछि मानिसमा सर्न सक्ने भएकाले त्यसविरुद्धको सुइँ अनिवार्य रूपमा लगाइन्छ । सरकारी अस्पतालमा निःशुल्क पाइने यो सुइँ अभाव भएपछि बिरामीहरू निजी अस्पताल तथा मेडिकलमा महँगो शुल्क तिरेर सुइँ लगाउन बाध्य भएका छन् ।
हाल निजी अस्पताल तथा केही मेडिकलमा मात्रै सीमित रूपमा उपलब्ध रेबिज सुइँको मूल्य ५ सयदेखि ७ सय रुपैयाँसम्म पर्ने गरेको छ ।


