
काठमाडौं- बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले अत्याधुनिक प्रविधिसहितको डिजिटल डेन्टिस्ट्री सेन्टर सञ्चालनमा ल्याएको छ । सोमबार आयोजित विशेष कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिसिनका डीन प्राडा मनोज हुमागाईंले रिवन काटेर सेन्टरको औपचारिक उद्घाटन गरे ।
केडीसीले ‘हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन’सहितको डिजिटल प्रणालीमार्फत दाँतको इम्प्लान्ट, क्राउन, ब्रिज, भिनियर तथा अन्य दन्त संरचना छिटो र सटीक रूपमा निर्माण गर्ने जनाएको छ । नयाँ प्रणाली ‘कम्प्युटर एडेड डिजाइन तथा म्यानुफ्याक्चरिङ (क्याड/क्याम)’ प्रविधिमा आधारित रहेको अस्पतालले जानकारी दिएको छ ।

यसअघि प्रयोग हुँदै आएको परम्परागत इम्प्रेसन विधिमा बिरामीले असहज अनुभव गर्नुपर्ने र समय पनि बढी लाग्ने समस्या थियो । अब भने ‘इन्ट्राओरल स्क्यानर’ प्रयोग गरेर बिरामीको मुखभित्रको संरचना डिजिटल रूपमा स्क्यान गरिनेछ । उक्त डाटालाई डिजिटल ल्याबमा डिजाइन गरी सीएनसी मिलिङ मेसिनमार्फत आवश्यक संरचना निर्माण गरिनेछ ।
कार्यक्रममा बोल्दै डीन हुमागाईंले डिजिटल डेन्टिस्ट्रीले दन्त शिक्षा र उपचार सेवामा गुणस्तरीय परिवर्तन ल्याउने बताए । उनले केडीसी आधुनिक दन्त सेवाको ‘सेन्टर अफ एक्सिलेन्स’ बन्ने दिशामा अघि बढेको उल्लेख गरे ।
केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले अब अस्पताल पुगेको केही घण्टामै बिरामीले क्राउन वा ब्रिज लगाएर फर्किन सक्ने अवस्था बनेको बताए । उनका अनुसार लिथियम डिसिलिकेट क्राउन करिब ९० मिनेटमै तथा जिर्कोनिया क्राउन करिब तीन घण्टाभित्र तयार गर्न सकिनेछ ।

उनले नयाँ प्रविधिले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अभ्यास र सिकाइको अवसर दिने उल्लेख गर्दै केडीसी नेपालमै डिजिटल डेन्टिस्ट्री प्रविधि सञ्चालन गर्ने अग्रणी शैक्षिक संस्था बनेको दाबी गरे ।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका सदस्यहरू, विभिन्न दन्त विशेषज्ञ तथा चिकित्सकहरूको उपस्थिति रहेको थियो । सो अवसरमा नेपालकै पहिलो प्रोस्थोडोन्टिक्स प्राडा राज तिलक बस्नेतलाई विशेष सम्मान समेत गरिएको थियो ।


