
काठमाडौं – नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि ‘कार्बोप्लाटिन’ को अभाव भइरहेका बेला ८०० भाइल औषधि नेपाल भित्राइएको छ ।
नेपाल औषधि आयातकर्ता संघको पहलमा बंगलादेशबाट उक्त औषधि आयात गरिएको हो । संघका अध्यक्ष पवन आचार्यका अनुसार सरकारलाई गरिएको प्रतिबद्धताअनुसार आयातकर्ता अबुल हुशेन अन्सारीसँग समन्वय गरेर कार्बोप्लाटिन नेपाल ल्याइएको हो ।
उनले देशभर औषधिको चरम अभाव देखिएको अवस्थामा अल्पकालीन समाधानका रूपमा तत्काल औषधि भित्राइएको बताए ।
अध्यक्ष आचार्यका अनुसार ल्याइएका औषधि आवश्यकताका आधारमा विभिन्न अस्पताल तथा बिरामीलाई वितरण गरिनेछ ।
यसअघि नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने ‘कार्बोप्लाटिन’, ‘सिस्प्लाटिन’ तथा केही सलाइनको अभाव भएपछि बिरामीको उपचार प्रभावित हुने जोखिम बढेको थियो । समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग र औषधि आयातकर्ता संघ सक्रिय रूपमा जुटिरहेका छन् ।


