
काठमाडौं – अफ्रिकी देश कंगोमा इबोला भाइरसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि स्वास्थ्य निकायहरू चिन्तित बनेका छन् । विशेषगरी देशको पूर्वी क्षेत्रमा संक्रमणले गम्भीर रूप लिएको बताइएको छ ।
कंगो सरकारले सार्वजनिक गरेको विवरणअनुसार इबोला संक्रमणका सम्भावित केसहरूको संख्या ९०० नाघेको छ । एबीसी न्युजका अनुसार हालसम्म ९०४ वटा सम्भावित संक्रमणका घटना पुष्टि भएका छन् ।
संक्रमणका कारण हालसम्म ११९ जनाको मृत्यु भइसकेको जनाइएको छ । यसअघि सार्वजनिक विवरणमा ७०० भन्दा बढी संक्रमित र १७० भन्दा बढीको मृत्यु भएको उल्लेख गरिएको थियो ।
निरन्तर बढ्दो संक्रमण र मृत्युदरले अन्तर्राष्ट्रिय स्वास्थ्य एजेन्सीहरूको चिन्ता थप बढाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यो प्रकोपलाई कंगोका लागि गम्भीर स्वास्थ्य संकटका रूपमा व्याख्या गरेको छ ।
यद्यपि, हाल विश्वव्यापी रूपमा संक्रमण फैलिने जोखिम भने कम रहेको आकलन गरिएको छ । त्यसका बाबजुद विभिन्न देशहरूले आफ्ना नागरिकलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गर्दै यात्रा एड्भाइजरी जारी गरेका छन् ।
स्वास्थ्य निकायहरूका अनुसार अहिलेको प्रकोपका लागि ‘बन्डिबुग्यो स्ट्रेन’ नामक इबोलाको खतरनाक प्रकार जिम्मेवार रहेको मानिएको छ । यो इबोलाको दुर्लभ तथा जोखिमयुक्त स्वरूपमध्ये एक हो ।
हालसम्म उक्त स्ट्रेनविरुद्ध कुनै स्वीकृत खोप वा विशेष औषधि उपलब्ध नभएकाले कंगोको अवस्था थप चुनौतीपूर्ण बनेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
संक्रमणको सबैभन्दा बढी प्रभाव इतुरी प्रान्तमा देखिएको छ । त्यहाँ स्वास्थ्य सेवा, निगरानी र संक्रमितको उपचारमा कठिनाइ भइरहेको जनाइएको छ ।


