
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तथा स्वास्थ्य विभाग प्रमुख डा. तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दर बढाएर कम्तीमा ५० प्रतिशत पुर्याउनुपर्ने माग गरेकी छन् ।
सार्वजनिक स्वास्थ्य करसम्बन्धी एक कार्यक्रममा बोल्दै उनले जनस्वास्थ्य सुधार, सुर्तीजन्य पदार्थको उपभोग नियन्त्रण तथा स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन कडा कर नीति आवश्यक रहेको बताइन् ।
उनले सन् २०३५ सम्म सुर्तीजन्य पदार्थमा ५० प्रतिशतसम्म कर वृद्धि गर्नुपर्ने सिफारिस गर्दै हाल भइरहेको ३ देखि ५ प्रतिशतसम्मको सामान्य कर वृद्धिले उपभोग घटाउन प्रभावकारी नहुने जिकिर गरिन् ।
डा. कार्कीका अनुसार दक्षिण एसियाली मुलुकमध्ये नेपालमा सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लाग्ने गरेको छ । हाल नेपालमा करिब ४१ प्रतिशत मात्रै कर रहेको उल्लेख गर्दै उनले पर्याप्त कर वृद्धि भए मात्रै यसको प्रयोग घटाउन र त्यसबाट उत्पन्न रोगको भार कम गर्न सकिने बताइन् ।
उनले सुर्तीजन्य पदार्थका कारण क्यान्सरसहित रक्तनलीसम्बन्धी गम्भीर रोग बढ्ने उल्लेख गर्दै यसले नागरिकको उत्पादकत्वमा नकारात्मक असर पार्नुका साथै राज्यको स्वास्थ्य खर्चसमेत बढाउने बताइन् ।
सांसद कार्कीले सुर्तीजन्य पदार्थ, मदिरा तथा अन्य हानिकारक पेय पदार्थबाट उठ्ने राजस्व स्वास्थ्य बीमा कार्यक्रममा लगानी गर्नुपर्ने प्रस्तावसमेत अघि सारिन् ।
“यदि यस्ता वस्तुबाट उठ्ने राजस्व स्वास्थ्य क्षेत्रमै प्रयोग गरियो भने नागरिकले पनि सहज रूपमा स्वीकार गर्नेछन्,” उनले भनिन् ।
धुम्रपानबाट निस्कने धुवाँका कारण बालबालिका, गर्भवती महिला तथा दीर्घरोगी बढी जोखिममा पर्ने उल्लेख गर्दै उनले ‘प्यासिभ स्मोकिङ’ नियन्त्रणका लागि राज्यले विशेष नीति र कडा कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइन् ।


