
काठमाडौं- देशभर गर्मी बढ्दै जाँदा तराईका जिल्लाहरूमा तातो हावा अर्थात् ‘लु’ चल्न सुरु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयका अनुसार लु लाग्दा शरीरको तापक्रम अत्यधिक बढ्ने, हृदयको गति तीव्र हुने तथा श्वासप्रश्वास र रक्तचापमा असर पर्ने समस्या देखिन सक्छ। यस्तै शरीरबाट पसिना ननिस्कने, चक्कर लाग्ने, अचेत हुने तथा अत्यधिक टाउको दुख्ने लक्षणसमेत देखिन सक्ने जनाएको छ।
मन्त्रालयका अनुसार लु लाग्दा शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी पुग्न सक्छ। यस अवस्थामा छाला सुक्खा, रातो र तातो हुने समस्या पनि देखिने बताइएको छ।
‘लु’ लाग्दाका प्रमुख लक्षण
- शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुनु
- हृदयको गति तीव्र हुनु
- छाला सुक्खा, रातो वा तातो हुनु
- अत्यधिक टाउको दुख्नु
- चक्कर लाग्नु वा अचेत हुनु
- शरीरबाट पसिना ननिस्कनु
मन्त्रालयले तातो हावा वा लुबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको छ। दिउँसो सकेसम्म घरबाहिर ननिस्कन, प्रशस्त पानी तथा फलफूलको रस पिउन र शरीरलाई चिसो राख्न सुझाव दिइएको छ।
लुबाट बच्ने उपाय
- प्रशस्त पानी र फलफूलको रस पिउने
- धेरै पसिना आए जीवनजल सेवन गर्ने
- दिउँसो घरबाहिर ननिस्कने
- बाहिर निस्कनै परे टाउको छोप्ने वा छाता प्रयोग गर्ने
- चिया, कफी, सोडाजस्ता क्याफिनयुक्त पेयपदार्थ कम सेवन गर्ने
- चिसो पानीले नुहाउने
- मदिरा सेवन नगर्ने
- खेतबारीका काम बिहान वा बेलुका गर्ने
- अत्यधिक चिनी भएका झोल पदार्थ कम पिउने
स्वास्थ्य मन्त्रालयले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई गर्मीको समयमा थप सावधानी अपनाउन आग्रह गरेको छ।


