
काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गरिने बताएका छन् ।
राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले हाल सञ्चालनमा रहेको मोडालिटीअनुसार स्वास्थ्य बिमा कार्यक्रम दीगो रूपमा सञ्चालन गर्न कठिन भएको बताए ।
उनले आगामी जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको जानकारी पनि दिए ।
अर्थमन्त्री वाग्लेका अनुसार गत आर्थिक वर्ष स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको भए पनि २५ देखि ३० अर्ब रुपैयाँसम्मको खर्च दाबी आएको थियो, जसका कारण भुक्तानी व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
हाल तीन हजार पाँच सय रुपैयाँ शुल्क तिरेपछि पाँच जनासम्मको परिवारले वार्षिक एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था रहेको छ । तर, यो योजनाको दुरुपयोग बढेको सरकारी निष्कर्ष रहेको उनले बताए ।
विशेषगरी निजी अस्पतालहरूमा अनावश्यक परीक्षण र सेवा दुरुपयोग बढेको भन्दै उनले स्वास्थ्य बिमालाई “राइट साइज” गर्न आवश्यक भएको उल्लेख गरे ।
अर्थमन्त्री वाग्लेले आधारभूत स्वास्थ्य सेवा विपन्न नागरिकको अधिकार भएकाले उनीहरूलाई सरकारले संरक्षण गर्ने, तर सक्षम नागरिकलाई योगदानमा आधारित बिमा प्रणालीमा सहभागी गराइने योजना रहेको बताए ।
उनका अनुसार सरकारले स्वास्थ्य बिमालाई तीन तहमा पुनर्संरचना गर्ने तयारी गरेको छ । जसअन्तर्गत विपन्न वर्गलाई सरकारी सहायता, मध्यम वर्गलाई योगदानमा आधारित सेवा तथा दुरुपयोग नियन्त्रणसहित दीगो प्रणाली निर्माणमा जोड दिइनेछ ।
चुरोट र मदिराजस्ता वस्तुमा लगाइने करको केही हिस्सा स्वास्थ्य बिमा कोषमा राख्ने विषयमा पनि सरकार सकारात्मक रहेको वाग्लेले जानकारी दिए ।


