

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ ।
यी पदमा नाम सिफारिस गर्न गठित सिफारिस समितिले सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकलाई दरखास्त दिन आग्रह गरेको हो ।
समितिले गत जेठ ५ गते स्वीकृत गरिएको ‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम आवेदन खुला गरिएको जनाएको छ ।
सूचनाअनुसार कार्यविधिको अनुसूची–१ मा उल्लेख गरिएको ढाँचाअनुसार आजदेखि १० दिनभित्र आवेदन पेश गर्न सकिनेछ ।
यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका थिए ।
उक्त अध्यादेशअनुसार २०८२ चैत १२ गतेअघि सार्वजनिक निकायहरूमा नियुक्त भएका एक हजार ५९४ जना पदाधिकारी स्वतः पदमुक्त भएका थिए ।
बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा जारी गरिएको अध्यादेशमार्फत ११० वटा विभिन्न ऐन संशोधन गर्दै ठूलो संख्यामा राजनीतिक नियुक्ति खारेज गरिएको थियो ।
सोही व्यवस्थाअनुसार रिक्त भएका पदहरूमा अहिले विभिन्न निकायले नियुक्ति प्रक्रिया अघि बढाइरहेका छन् ।



