
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालको औषधि उद्योग गम्भीर संकटमा पुगेको बताएका छन् । अत्यधिक औषधि आयात र कमजोर सरकारी नीतिका कारण स्वदेशी उद्योग धराशायी बन्दै गएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले करिब ५० वटा स्वदेशी औषधि उद्योग ‘सिक युनिट’को अवस्थामा पुगेको तथा १० हजारभन्दा बढी नेपाली कामदार बेरोजगार बन्न बाध्य भएको उल्लेख गरेका छन् ।
उनका अनुसार नेपालमै उत्पादन गर्न सकिने करिब ५० प्रतिशत औषधिसमेत विदेशबाट आयात भइरहेका छन् । यसले स्वदेशी उद्योग, रोजगारी र देशको आत्मनिर्भरतामाथि गम्भीर असर पारेको उनले बताएका छन् ।
शाहीले समयमै स्वदेशी उद्योग जोगाउन नसके भविष्यमा नेपाल पूर्ण रूपमा विदेशी औषधिमाथि निर्भर हुनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
उनले सरकारले तत्काल औषधि आयात नियन्त्रण, स्वदेशी उत्पादन प्रवर्द्धन तथा नेपालमै ‘कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ’ सम्बन्धी नीति ल्याउनुपर्ने माग गरेका छन् ।
स्वदेशी औषधि उद्योग संरक्षणका लागि स्पष्ट र प्रभावकारी नीति आवश्यक रहेको उल्लेख गर्दै शाहीले सरकारले नेपाली उद्योगलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।


