
झापा- चिकित्सक तथा जनस्वास्थ्यकर्मीहरूले नेपालमा आयोडिनको कमीबाट उत्पन्न हुने जनस्वास्थ्य समस्याको जोखिम फेरि बढ्न सक्ने चेतावनी दिएका छन् । उनीहरूले तत्काल आयोडिनविहीन नुनको बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल–भारत खुला सीमाका कारण भारतीय आयोडिनविहीन नुन नेपालका सुपरमार्केट तथा खाद्यान्न पसलमा खुला रूपमा बिक्री भइरहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । यस्ता नुनले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने भएकाले बजार अनुगमन गरी जफत गर्न तीनै तहका सरकारसँग माग गरिएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्चद्वारा सोमबार झापामा आयोजित ‘बजारमा उपलब्ध नुनको गुणस्तर र यसको उपभोगबाट हुनसक्ने स्वास्थ्यसम्बन्धी असर’ विषयक कार्यक्रममा सहभागी चिकित्सकहरूले निजी क्षेत्रलाई नुन बिक्रीवितरणमा प्रवेश खुला गरिएपछि गुणस्तरहीन नुन बजारमा बढेको बताएका हुन् ।
बालरोग विशेषज्ञ डा. टङ्क बह्राराकोटीले आयोडिनविहीन नुनको प्रयोग बढे बालबालिका र गर्भवती महिलाको स्वास्थ्य बढी जोखिममा पर्ने बताए । “आयोडिनको कमीले जनस्वास्थ्य समस्या फेरि देखिन सक्छ, त्यसैले आयोडिनविहीन नुन बिक्रीवितरणमा तत्काल प्रतिबन्ध लगाउनुपर्छ,” उनले भने ।
उनका अनुसार श्रीलंकाले अहिले आयोडिनको कमीका कारण उत्पन्न जनस्वास्थ्य समस्या भोगिरहेको छ र नेपालले त्यस्तो अवस्था आउन दिन नहुने बताए ।
सरकारले २०८२ साउन १ गतेदेखि निजी क्षेत्रलाई आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीवितरण गर्न अनुमति दिएको थियो । तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै ‘हिमालयन पिङ्क रक साल्ट’ परीक्षण गर्दा आयोडिनको मात्रा नभेटिएको प्रतिवेदन सार्वजनिक गरेको जनाइएको छ ।
कार्यक्रममा बजारमा ‘ब्ल्याक साल्ट’ नामका भारतीय गुणस्तरहीन नुन खुलेआम बिक्री भइरहेको पनि जानकारी दिइयो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालमा उत्पादन तहमा ५० पिपिएम, बिक्री स्थलमा ३० पिपिएम र उपभोक्ताको प्रयोगसम्म आइपुग्दा कम्तीमा १५ पिपिएम आयोडिन हुनुपर्ने व्यवस्था छ ।
चिकित्सकका अनुसार आयोडिन शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हो । यसले थाइराइड हर्मोन उत्पादन, मस्तिष्क विकास, शारीरिक वृद्धि तथा कोशिकाको नियमित कार्यमा महत्वपूर्ण भूमिका खेल्छ । आयोडिनको कमी हुँदा बालबालिकामा मानसिक तथा शारीरिक विकास अवरुद्ध हुने, बोल्न नसक्ने, सुस्त मनस्थिति हुने र पढाइ कमजोर हुने समस्या देखिन सक्छ ।
वयस्कमा गलगाँड, थाइराइड, मानसिक तथा शारीरिक क्षमतामा कमी, प्रजनन समस्या र गर्भपतनसम्मका समस्या हुन सक्ने चिकित्सकहरूले बताएका छन् ।
कार्यक्रममा सहभागी वक्ताहरूले ‘दुई बालबालिका’ चिन्ह भएको आयोडिनयुक्त नुन मात्र सही मात्रामा प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले बजार अनुगमनलाई कडाइ गर्दै स्वास्थ्यमा असर गर्ने आयोडिनविहीन नुन बिक्री हुन नदिने प्रतिबद्धता जनाइन् । सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले सीमावर्ती नाकामा नुन आयातमा निगरानी बढाइने जानकारी दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग झापाका प्रमुख सुवासचन्द्र ओस्तीले आयोडिनयुक्त नुन मानव शरीरका लागि अत्यावश्यक भएकाले यसको प्रयोगबारे व्यापक जनचेतना आवश्यक रहेको बताए ।
यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेशनले देशभर पर्याप्त आयोडिनयुक्त नुन आपूर्ति भइरहेको जनाएको छ । कर्पोरेशनका सहायक प्रबन्धक ब्रजेश झाले गत आर्थिक वर्षमा दुई लाख १० हजार टन आयोडिनयुक्त नुन बिक्रीवितरण गरिएको जानकारी दिए ।
नेपालले पछिल्ला दशकमा गलगाँड रोग नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार आयोडिनयुक्त नुनको पहुँच लगभग शतप्रतिशत पुगेपछि गलगाँडलगायत आयोडिनको कमीबाट हुने रोगहरू उल्लेखनीय रूपमा घटेका छन् ।


