

काठमाडौँ- नेपाल फार्मेसी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी उषा तण्डुकारले पाएकी छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि तण्डुकारलाई परिषद्को रजिष्ट्रारको जिम्मेवारी तोकेकी हुन् ।
तण्डुकार वरिष्ठ औषधी व्यवस्थापक (१० औँ तह) हुन् । उनी हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखामा कार्यरत थिइन् ।
यसअघि परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयले २२ वैशाखमा पदबाट राजीनामा दिएका थिए । सरकारले हालै ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ बाट जोगिएका पाण्डेयले नयाँ परिस्थिति सिर्जना भएको भन्दै राजीनामा दिएका थिए ।
मन्त्रालयले हाल चारवटै काउन्सिलमा निमित्त रजिष्ट्रार तोकेर दैनिक प्रशासनिक काम अघि बढाइरहेको छ ।



