
स्वास्थ्यकर्मी सधैंभरि हाँसिमुख बोलून ।
बिरामीले आफ्नो व्यथा राम्रैसँग खोलून ॥
स्वास्थ्यकर्मी हाम्रा भगवान हुन जान ।
उनीहरूले भनेको कुरा राम्रोसँग मान ॥
सधैंभरि सन्तुलित पोषण कुरा खानु ।
बिहान नियमित रूपमा मर्निङवाक जानु ॥
जाँड, रक्सी, चुरोट जस्ता अमल सधैं छाड्नू ।
समय-समयमा स्वास्थ्य जाँच्न अस्पताल जानू ॥
स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो भन्ने जानी ।
त्यसैले त अपनाउनू स्वस्थ अनि राम्रो बानी ॥
योगले दिन्छ स्वस्थ जीवन त्यसैमा नै खुसी ।
जिउन जाने मान्छे हुन्छ सबैभन्दा सुखी ॥
सफा पानी पिउनू अनि सफा खाना खानू ।
सरसफाइमा ध्यान दिई रोगबाट बच्न जानू ॥
दुःखीलाई सहयोग गर्दा मन पनि रमाउँछ ।
मिठो बोली बोलेपछि सम्बन्ध राम्रो बनाउँछ ॥
बालबालिका वृद्ध सबैको राम्रो हेरचाह गरौँ ।
घर, समाज र राष्ट्रलाई स्वस्थ अनि बलियो बनाऔँ ॥
रिस, घमण्ड, लोभलाई मनबाट टाढा राखौँ ।
माया, दया र सद्भावले जीवनभरि साथ पाऔँ ॥
प्रकृतिसँग नजिकिएर हरियाली रोज्नू ।
स्वस्थ तन र स्वस्थ मनका बाटाहरू खोज्नू ॥
आशा र आत्मविश्वास कहिल्यै पनि नहारून् ।
हरेक दिनका पाइला सधैं सफलतामा पारून् ॥
ज्ञान, सीप र मेहनतले उज्यालो भविष्य बन्छ ।
सकारात्मक सोच भएकै मान्छे सधैं अघि बढ्छ ॥
हामी सबै मिलीजुली स्वास्थ्य सन्देश फैलाऔँ ।
खुसीको बाटो अपनाई सुन्दर समाज बनाऔँ ॥
(लेखक जय पाठकले स्वास्थ्य, साहित्य र समसामयिक विषयवस्तुमा नियमित रूपमा लेखन गर्दै आएका छन् )


