

आज सेप्टेम्बर २५ अर्थात् ‘विश्व फार्मासिस्ट दिवस’ । सन् २०२६ को विश्व फार्मासिस्ट दिवसको नारा “स्वस्थ भविष्यका लागि फार्मासिस्टहरूलाई सशक्त बनाउँदै” रहेको छ ।
फार्मासिस्ट दिवसको इतिहास
विश्व फार्मासिस्ट दिवस अन्तर्राष्ट्रिय औषधि महासंघको स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष सेप्टेम्बर २५ मा मनाइन्छ । महासंघकाे सन् १९१२ मा स्थापना भएको थियो । सन् २००९ मा टर्कीको इस्तानबुलमा आयोजित ‘वर्ल्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्स’का क्रममा महासंघकाे काउन्सिलले हरेक वर्ष सेप्टेम्बर २५ लाई विश्व फार्मासिस्ट दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
फार्मासिस्टहरूको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य सेवामा फार्मेसीको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ ।
औषधि : अमृत पनि, विष पनि !
भनिन्छ – ‘थोरै खाए अमृत, धेरै खाए विष ।’ कुनै पनि वस्तुको सही र विवेकपूर्ण प्रयोगले लाभ दिन सक्छ, तर गलत तरिकाले प्रयोग गरिएमा त्यही वस्तु हानिकारक बन्न सक्छ । औषधिको हकमा यो कुरा अझ बढी महत्वपूर्ण हुन्छ ।
औषधिबिना उपचारको कल्पना गर्न कठिन छ । उपचार प्रक्रियामा औषधिको महत्वपूर्ण भूमिका हुन्छ । तर औषधि आफैँमा जति संवेदनशील हुन्छ, यसको प्रयोग पनि त्यत्तिकै जिम्मेवार र विवेकपूर्ण हुनुपर्छ । औषधिसँग प्रत्यक्ष रूपमा जोडिएको स्वास्थ्यकर्मी हुन् – फार्मासिस्ट अर्थात् औषधिविज्ञ ।
फार्मेसी पेशाप्रति गम्भीर बन्नुपर्ने किन आवश्यक छ ?
विश्व स्वास्थ्य सेवामा फार्मेसीलाई अत्यन्त संवेदनशील र महत्वपूर्ण क्षेत्रका रूपमा लिइन्छ । तर नेपालमा औषधि तथा फार्मेसी क्षेत्रसँग सम्बन्धित कतिपय कानुनी तथा व्यावहारिक प्रावधानको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण देखिन्छ ।
कानुन बन्नु मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन र नियमित अनुगमन पनि आवश्यक हुन्छ । नियम तथा मापदण्ड कागजमा सीमित रहने हो भने त्यसको वास्तविक उद्देश्य पूरा हुन सक्दैन । त्यसैले औषधि तथा फार्मेसी क्षेत्रको नियमन, अनुगमन र सुधारमा सम्बन्धित निकाय थप जिम्मेवार बन्न आवश्यक छ ।
‘औषधि आफू खुशी किनेर खान पाउनु’ अधिकार हो ?
औषधि किन्न र प्रयोग गर्नुअघि त्यसको आवश्यकता, उपयुक्तता, मात्रा, अवधि र सम्भावित जोखिमबारे बुझ्नु आवश्यक हुन्छ । तर व्यवहारमा चिकित्सकको सल्लाहबिना औषधिको खोल देखाएर, औषधिको नाम बताएर वा मोबाइलमा औषधिको फोटो देखाएर फार्मेसीमा औषधि माग्ने प्रवृत्ति अझै देखिन्छ ।
कुनै व्यक्तिलाई प्रयोग भएको औषधि आफूलाई पनि त्यस्तै समस्या भएकाले प्रयोग गर्न मिल्छ भन्ने सोच गलत हुन सक्छ । एउटै लक्षण भए पनि रोगको कारण, उमेर, शरीरको अवस्था, अन्य रोग तथा प्रयोग भइरहेका औषधि फरक हुन सक्छन् ।
त्यसैले औषधि प्रयोग गर्नुअघि ‘यो औषधि मलाई आवश्यक छ कि छैन? कति मात्रा र कति समयसम्म प्रयोग गर्ने? यसबाट कुनै प्रतिकूल असर हुन सक्छ कि सक्दैन?’ जस्ता विषयमा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ ।
प्रिस्क्रिप्सन विना औषधिमा सेवन गर्नु खतरा !
प्रिस्क्रिप्सन आवश्यक पर्ने औषधि चिकित्सकको सिफारिसबिना बिक्री–वितरण गर्नु हुँदैन । तर यस्तो औषधि माग्दा स्वास्थ्यकर्मीले कानुनी तथा व्यावसायिक जिम्मेवारीका कारण प्रिस्क्रिप्सन मागेमा कतिपय सेवाग्राहीले असन्तुष्टि व्यक्त गर्ने गरेको पाइन्छ ।
‘मैले मागेपछि दिनुपर्छ’, ‘औषधि मैले खाने हो’, ‘असर गरे मलाई गर्छ’ जस्ता तर्कले औषधिको जोखिम कम हुँदैन । औषधिको सुरक्षित प्रयोग सुनिश्चित गर्नु सेवाग्राही, स्वास्थ्यकर्मी र सम्बन्धित संस्थाको साझा जिम्मेवारी हो ।
आफूखुशी औषधि प्रयोग नगरौँ
हामीमध्ये धेरैले घरपरिवार वा छिमेकीलाई प्रयोग गरिएको औषधि आफूलाई पनि उस्तै समस्या भएको भन्दै चिकित्सक वा फार्मासिस्टको सल्लाहबिना प्रयोग गर्ने गर्छौँ । तर यसरी औषधि प्रयोग गर्दा त्यसले अपेक्षित लाभको सट्टा स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।
औषधिको मात्रा, सेवनको समय, अवधि, अन्य औषधिसँगको अन्तरक्रिया, एलर्जी तथा व्यक्तिको उमेर र स्वास्थ्य अवस्थाजस्ता विषयले औषधिको प्रभावमा फरक पार्न सक्छन् ।
त्यसैले अरूलाई ठीक भएको औषधि आफूलाई पनि ठीक हुन्छ भन्ने सोचबाट मुक्त हुनुपर्छ ।
एन्टिबायोटिकको दुरुपयोग : गम्भीर चुनौती
अनावश्यक रूपमा एन्टिबायोटिक प्रयोग गर्ने तथा चिकित्सकले तोकेको अवधिअघि नै औषधि सेवन गर्न छाड्ने प्रवृत्तिले एन्टिमाइक्रोबियल रेसिस्टेन्स अर्थात् जीवाणुहरूमा औषधिप्रतिको प्रतिरोध क्षमता बढ्ने समस्या निम्त्याउँछ ।
बालबालिकाको हकमा पनि ‘एन्टिबायोटिक नदिएसम्म निको हुँदैन’ भन्ने धारणा कतिपय अभिभावकमा पाइन्छ । तर हरेक संक्रमणमा एन्टिबायोटिक आवश्यक हुँदैन । कुन अवस्थामा एन्टिबायोटिक आवश्यक पर्छ भन्ने निर्णय स्वास्थ्यकर्मीले गर्नुपर्छ ।
एन्टिबायोटिकको अविवेकी प्रयोग जारी रहने हो भने भविष्यमा सामान्य संक्रमणको उपचारसमेत जटिल बन्न सक्ने जोखिम रहन्छ । त्यसैले एन्टिबायोटिकको उचित प्रयोगमा चिकित्सक, फार्मासिस्ट, अन्य स्वास्थ्यकर्मी, अभिभावक र आम उपभोक्ता सबै सचेत हुन आवश्यक छ ।
आकस्मिक गर्भनिरोधकको प्रयोगमा पनि सचेतना आवश्यक
आकस्मिक गर्भनिरोधक चक्कीलाई नियमित गर्भनिरोधकको विकल्पका रूपमा प्रयोग गर्नु उचित हुँदैन । यसको प्रयोगबारे सही जानकारी र स्वास्थ्यकर्मीको परामर्श आवश्यक हुन्छ ।
त्यस्तै, आकस्मिक गर्भनिरोधकले यौनजन्य संक्रमणबाट सुरक्षा प्रदान गर्दैन । त्यसैले सुरक्षित यौन व्यवहार, नियमित गर्भनिरोधकका उपयुक्त विकल्प तथा यौनजन्य संक्रमणबाट बच्ने उपायबारे युवापुस्तामा सही स्वास्थ्य शिक्षा आवश्यक छ ।
फार्मेसी सञ्चालनमा खै मापदण्ड ?
दर्ता तथा नियमनबिना फार्मेसी सञ्चालन, आवश्यक योग्यता तथा कानुनी मापदण्डको पालना नगरी औषधि बिक्री–वितरण गर्ने तथा औषधि बिक्रीका क्रममा आवश्यक फार्मासिस्टको उपस्थितिसम्बन्धी प्रावधान पालना नगर्ने जस्ता विषयमा प्रभावकारी अनुगमन आवश्यक छ ।
औषधि व्यवस्था विभागलगायत सम्बन्धित नियामक निकायले प्रचलित कानुन तथा मापदण्डको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र आवश्यक कारबाहीलाई प्राथमिकता दिनुपर्छ ।
फार्मेसी क्षेत्रलाई व्यवस्थित, सुरक्षित र उपभोक्तामैत्री बनाउन राज्य, नियामक निकाय, स्वास्थ्य संस्था, फार्मासिस्ट तथा व्यवसायी सबैको जिम्मेवारी उत्तिकै महत्वपूर्ण छ ।
अस्पताल फार्मेसीलाई व्यवस्थित बनाऔँ
अस्पताल फार्मेसी स्वास्थ्य सेवाको अभिन्न अंग हो । अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक औषधि सुरक्षित, गुणस्तरीय, प्रभावकारी र उचित मूल्यमा उपलब्ध गराउने व्यवस्था हुनुपर्छ ।
अस्पताल फार्मेसीको व्यवस्थापन, औषधिको उपलब्धता, भण्डारण, गुणस्तर, मूल्य, वितरण तथा औषधि परामर्शमा पारदर्शिता र जवाफदेहिता आवश्यक छ । यस क्षेत्रमा सेवाग्राहीको हितलाई केन्द्रमा राखेर प्रणाली विकास गर्नुपर्छ ।
स्वदेशमै औषधि उत्पादनको सम्भावना खोजौँ
औषधि तथा औषधिजन्य सामग्रीका लागि सधैँ विदेशमा निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै औषधि उत्पादन तथा अनुसन्धानको सम्भावना खोजिनुपर्छ ।
नेपालमा उपलब्ध स्रोत, जनशक्ति र प्राविधिक सम्भावनालाई उपयोग गर्दै औषधि उत्पादन, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न सके औषधि क्षेत्रमा आत्मनिर्भरतातर्फ अघि बढ्न सकिन्छ ।
यसका लागि फार्मासिस्ट मात्र होइन, चिकित्सक, अन्य स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता, उद्योगी, राज्य र सम्बन्धित नियामक निकायबीच सहकार्य आवश्यक छ ।
फार्मासिस्टको भूमिका अझ व्यापक बनाऔँ
फार्मासिस्टको भूमिका केवल औषधि वितरणमा सीमित छैन। औषधिको सही प्रयोग, मात्रा, सम्भावित प्रतिकूल असर, औषधि–औषधि अन्तरक्रिया, भण्डारण, बिरामीलाई आवश्यक परामर्श तथा औषधिको विवेकपूर्ण प्रयोग प्रवर्द्धनमा फार्मासिस्टको महत्वपूर्ण भूमिका हुन्छ ।
स्वस्थ भविष्य निर्माणका लागि फार्मासिस्टलाई आवश्यक ज्ञान, सीप, प्रविधि र निर्णय प्रक्रियामा उचित भूमिका प्रदान गर्नु आजको आवश्यकता हो ।
अन्त्यमा : औषधि प्रयोगमा सबैजना जिम्मेवार बनौँ
औषधिको विवेकपूर्ण प्रयोग, गुणस्तरीय सेवा र उचित मूल्य जस्ता विषयलाई कहिल्यै बेवास्ता नगरौँ ।
हरेक औषधिको आफ्नै सेवन तथा प्रयोग विधि हुन्छ। कुन औषधि कसका लागि, कति मात्रा, कति समय र कसरी प्रयोग गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ । त्यसैले आफूखुशी, हचुवा वा अरूको अनुभवका आधारमा औषधि प्रयोग गर्नुहुँदैन ।
औषधि स्वास्थ्य सुधारका लागि हो, जोखिम बढाउनका लागि होइन । त्यसैले चिकित्सकको सल्लाह लिऔँ, फार्मासिस्टसँग औषधिबारे आवश्यक जानकारी लिऔँ, प्रिस्क्रिप्सन आवश्यक औषधि बिना सिफारिस प्रयोग नगरौँ र एन्टिबायोटिकको दुरुपयोग रोकौँ ।
विश्व फार्मासिस्ट दिवसले पनि यही सन्देश दिन सकोस्– औषधिको सही प्रयोग, सुरक्षित स्वास्थ्य र स्वस्थ भविष्यका लागि सबैजना जिम्मेवार बनौँ ।
(लेखक पाठक भरतपुर केन्द्रीय अस्पतालका डिस्पेन्सरी फार्मेसी ईन्चार्ज एवम् सप्तगण्डकी अस्पतालका फार्मेसी ईन्चार्ज हुन् ।)



