

काठमाडौं – सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन गर्दै ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ बनाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ स्वीकृत गरेसँगै मन्त्रालयको नयाँ संरचना लागू गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालका अनुसार मन्त्रिपरिषद्बाट स्वीकृत नियमावली राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आउनेछ। नयाँ व्यवस्थाअनुसार स्वास्थ्य मन्त्रालयले अब स्वास्थ्य सेवासँगै खाद्य सुरक्षासम्बन्धी जिम्मेवारी पनि सम्हाल्नेछ।
सरकारले मन्त्रालय पुनर्संरचना गर्दै संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा सीमित गरेको छ। पुनर्संरचनाअन्तर्गत सहरी विकास, युवा तथा खेलकुद, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, खानेपानी तथा वन तथा वातावरण मन्त्रालय खारेज गरिएको छ।
सरकारका अनुसार प्रशासनिक खर्च नियन्त्रण, कार्यसम्पादनमा प्रभावकारिता तथा सेवा प्रवाहलाई चुस्त बनाउन मन्त्रालयहरूको एकीकरण गरिएको हो। नयाँ स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले जनस्वास्थ्य, पोषण तथा खाद्य गुणस्तरसम्बन्धी नीतिलाई समन्वित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।


