
काठमाडौं- मिर्गौला तथा विभिन्न दीर्घरोगबाट पीडित व्यक्तिहरूको हकहितका लागि कार्यरत मिर्गौला पीडित सरोकार समाजले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै समाजले मंगलबार ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेको हो। माइतीघर मण्डलामा भेला भएका पीडित तथा उनीहरूका आफन्तहरूले उपचारमा सहज पहुँच, निःशुल्क औषधि र राज्यद्वारा उपलब्ध गराइने सुविधाको प्रभावकारी कार्यान्वयनको माग गरेका छन्।
प्रदर्शनकारीहरूले बिरामीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका थिए। उनीहरूले देशभरका अस्पतालमा डायलासिस सेवालाई थप व्यवस्थित, सहज र झन्झटरहित बनाउनुपर्ने माग राखेका छन्।
त्यसैगरी, मिर्गौला प्रत्यारोपण गरेका तथा अन्य कडा रोगका बिरामीलाई आवश्यक पर्ने महँगो औषधि सहुलियत दरमा वा निःशुल्क उपलब्ध गराउनुपर्ने मागसमेत प्रदर्शनकारीहरूको छ। उनीहरूले गम्भीर प्रकृतिका बिरामीका लागि सरकारले घोषणा गरेको जीवननिर्वाह भत्ता नियमित र सरल प्रक्रियामार्फत उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।
प्रदर्शनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरूले प्रदर्शनकारीबाट ध्यानाकर्षण पत्र बुझेका छन्। समाजका प्रतिनिधिहरूले माग चाँडै सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
मन्त्रालयका कर्मचारीहरूले भने बिरामीका समस्यालाई गम्भीरतापूर्वक लिइएको र सम्बन्धित निकायमा पुर्याइने आश्वासन दिएका छन्।


