

चितवन – नेपाल नर्सिङ संघ चितवन शाखाले अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा मङ्गलवार (आज) वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान गरी जीवन बचाउने अभियानमा सहभागी हुन संघले सबैलाई आग्रह गरेको छ । संघले जारी गरेको पत्रअनुसार कार्यक्रम आज बिहान ९ बजेदेखि भरतपुर अस्पताल परिसरमा सञ्चालन हुनेछ ।
कार्यक्रममा नर्सिङकर्मी, विद्यार्थी तथा सर्वसाधारणलाई रक्तदानमा सहभागी हुन अनुरोध गरिएको छ । नेपाल नर्सिङ संघ चितवन शाखाकी अध्यक्ष विष्णु माया अधिकारीद्वारा हस्ताक्षरित पत्रमा रक्तदान जीवनदान भएकाले मानवीय सेवाको भावनासहित कार्यक्रममा सहभागिता जनाउन अपिल गरिएको छ । हरेक वर्ष मे १२ मा अन्तर्राष्ट्रिय नर्सिङ दिवस विश्वभर मनाइन्छ ।
यस वर्ष “हाम्रा नर्स, हाम्रो भविष्य : सशक्त नर्सहरूले जीवन बचाउँछन् ।” भन्ने मूल नारासहित नेपाल लगायत विश्वभर यो दिवस मनाइँदै छ । आधुनिक नर्सिङ सेवाकी प्रवर्तक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । यस दिवसले नर्सहरूको योगदान, समर्पण र स्वास्थ्य सेवामा उनीहरूको महत्वपूर्ण भूमिकाको सम्मान गर्दछ ।
बिरामीको उपचार, हेरचाह, स्वास्थ्य शिक्षा तथा आपतकालीन सेवामा नर्सहरू अग्रपंक्तिमा रहेर काम गर्ने भएकाले समाजमा उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ ।



