

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा खाद्य तथा औषधि प्रशासन (एफडीए) को संस्थागत डिजाइन, आगामी कार्यदिशा तथा मस्यौदाको खाका तयार गर्ने विषयमा छलफल भएको छ।
छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कानुन शाखा, नीति, योजना तथा अनुगमन महाशाखाका साथै सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा एफडीएको संरचना, जिम्मेवारी र कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। एफडीएलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक कानुनी, नीतिगत तथा संस्थागत पक्षबारे समेत सहभागीबीच छलफल भएको जनाइएको छ।
एफडीएको संस्थागत संरचना निर्माण तथा कार्यान्वयनका क्रममा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने विषयमा पनि छलफल भएको छ।
छलफलबाट प्राप्त सुझावका आधारमा एफडीएको संस्थागत डिजाइन तथा आगामी कार्यदिशासहितको मस्यौदा खाका तयार गर्ने तयारी गरिएको छ।



