
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णयप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै काउन्सिलको उक्त निर्णयलाई अन्यायपूर्ण, आपत्तिजनक र अपमानजनक भएको जनाएको हो ।
संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विदेशमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वदेश फर्किन प्रोत्साहन गर्नुपर्नेमा उल्टै दर्ता खारेज गर्नु गलत भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “विदेशमा हासिल गरेको ज्ञान र अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रमा उपयोग गर्न प्रोत्साहन गर्नुपर्नेमा दर्ता नै खारेज गर्नु न्यायसंगत होइन ।”
संघले एनआरएन चिकित्सकहरूले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्नुको सट्टा उनीहरूको आत्मसम्मान र व्यक्तिगत स्वतन्त्रतामाथि असर पर्ने निर्णय गरिएको आरोप लगाएको छ ।
“एकपटकको नेपाली सधैंको नेपाली” भन्ने भावनालाई आत्मसात् गर्दै विदेशमा रहेका नेपाली चिकित्सकहरूको दर्ता प्रक्रियालाई पुरानै अनलाइन प्रणालीमार्फत निरन्तरता दिनुपर्ने माग संघले गरेको छ ।
नेपाल चिकित्सक संघले उक्त निर्णय तत्काल फिर्ता लिन र विद्यमान नियम तथा कानुनअनुसार दर्ता प्रक्रिया अगाडि बढाउन नेपाल मेडिकल काउन्सिल र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।


