
बागलुङ – जिल्लाको ग्वालीचौरस्थित १५ शय्याको बडिगाड आधारभूत अस्पतालमा मिर्गौला रोगका बिरामीका लागि डायलायसिस सेवा सुरु गर्ने तयारी तीव्र बनाइएको छ ।
डायलायसिस सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति तयार गर्न बडिगाड गाउँपालिकाले नर्सलाई ‘डायलायसिस नर्सिङ’ तालिमका लागि काठमाडौं पठाएको छ । वीर अस्पतालमा तीन महिनाको आधारभूत तालिम लिइरहेका दुई जना नर्स दक्ष भएर फर्किएपछि सेवा औपचारिक रूपमा सुरु गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक हेमबहादुर पुनका अनुसार डायलायसिस मेसिन जडानको काम पूरा भइसकेको छ भने अन्य व्यवस्थापकीय काम अघि बढिरहेको छ ।
यसअघि गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भीमसेन वन र स्वास्थ्य संयोजक विपेन्द्र केसीसहितको टोलीले विभिन्न अस्पतालमा पुगेर डायलायसिस सेवाबारे अध्ययनसमेत गरेको थियो ।
बडिगाड गाउँपालिकामा मात्रै हाल १४ जना मिर्गौला रोगका बिरामी रहेका छन् । पश्चिम बागलुङका पाँच पालिका र गुल्मीको मुसिकोटसमेत गरी करिब ८५ जना बिरामी अहिले विभिन्न अस्पतालको सम्पर्कमा छन् । उनीहरू हाल बागलुङ, पोखरा, नारायणघाट र बुटवलसम्म पुगेर डायलायसिस गराउन बाध्य छन् ।
सेवा सुरु भएपछि बडिगाडसँगै गलकोट, ढोरपाटन, निसीखोला, तमानखोला लगायतका पालिका तथा गुल्मी, रुकुम र रोल्पाका बिरामीले समेत स्थानीयस्तरमै उपचार पाउने अपेक्षा गरिएको छ । यसले लामो दूरीको यात्रा र आर्थिक बोझबाट बिरामीलाई राहत मिल्ने विश्वास लिइएको छ ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत बडिगाड अस्पताललाई १ करोड १ लाख ४४ हजार ८ सय रुपैयाँ बराबरका पाँच वटा डायलायसिस मेसिन उपलब्ध गराइएको छ । गत साउनदेखि सेवा सुरु भए पनि उपकरण थपिएसँगै पूर्ण रूपमा सञ्चालनको तयारी अघि बढेको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिए ।
अस्पतालमा हाल दुई जना मेडिकल अधिकृतको पदपूर्ति गरिएको छ । डायलायसिस सेवालाई प्रभावकारी बनाउन थप नर्स तथा चिकित्सकलाई तालिम पठाउने योजना पनि रहेको गाउँपालिकाले जनाएको छ । साथै, डिजिटल भिडियो एक्सरे जडानको प्रक्रिया पनि अघि बढाइएको छ ।
तत्कालका लागि मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट चिकित्सक ल्याएर सेवा सुरु गर्ने र भविष्यमा आफ्नै जनशक्ति तयार गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।


