
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्दै त्यसलाई थप व्यवस्थित, सरल र जनमैत्री बनाउने तयारी सरकारले गरिरहेको बताएकी छन् ।
सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियानको शुभारम्भ गर्दै उनले स्वास्थ्य बीमा प्रणाली सुधारका लागि मन्त्रालयस्तरमा गहन छलफल र गृहकार्य भइरहेको जानकारी दिइन् ।
स्वास्थ्य बीमामा केही जटिल र पेचिला समस्या रहेको स्वीकार गर्दै मन्त्री मेहताले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने गरी नयाँ व्यवस्था ल्याउने तयारी भइरहेको उल्लेख गरिन् ।
उनका अनुसार स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना अहिले अन्तिम चरणमा पुगेको छ । सरकारले चाँडै नै नागरिकमैत्री र प्रभावकारी व्यवस्था सार्वजनिक गर्ने तयारी गरेको उनले बताइन् ।
“स्वास्थ्य बीमामा अलिकति पेचिलो समस्या छ,” मन्त्री मेहताले भनिन्, “यसलाई कसरी सहजीकरण गर्न सकिन्छ र जनमैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा हामी गहन छलफल गरिरहेका छौँ । अहिले वर्कआउट भइरहेको छ, चाँडै नै नागरिकले नयाँ व्यवस्था थाहा पाउनुहुनेछ ।”


