
झापा- झापामा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने सूचीकृत सरकारी स्वास्थ्य संस्थाको संख्या २७ पुगेको छ । जिल्लामा नगर अस्पताल, आधारभूत अस्पताल, हेल्थ पोस्ट तथा स्वास्थ्य सेवा केन्द्रमार्फत उक्त सेवा प्रदान हुँदै आएको छ । निजी स्वास्थ्य संस्थाले पनि सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिरहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी विश्वनाथ श्रेष्ठका अनुसार पछिल्ला तीन वर्षमा सूचीकृत स्वास्थ्य संस्थामार्फत १० हजार ४१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तीमध्ये २० वर्षमुनिका ६०६ जना किशोरी रहेका छन् ।
कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ८१९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । यसमध्ये २९२ जना २० वर्षमुनिका किशोरी थिए । पछिल्ला वर्षमा यस्तो सेवा लिनेको संख्या क्रमशः घट्दो अवस्थामा रहेको देखिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या तीन हजार ६३७ पुगेको थियो । तीमध्ये १८३ जना २० वर्षमुनिका किशोरी रहेका थिए ।
चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा भने दुई हजार ५८५ जनाले सुरक्षित गर्भपतन सेवा लिइसकेका छन् । यस अवधिमा २० वर्षमुनिका १३१ जना किशोरीले सेवा लिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
तीन वर्षको तथ्याङ्क विश्लेषण गर्दा महिलाले सुरक्षित गर्भपतनका लागि शल्यक्रियाभन्दा औषधि सेवन विधिलाई बढी प्राथमिकता दिएको देखिएको छ ।
आर्थिक वर्ष २०८०/८१ देखि चालु आर्थिक वर्ष २०८२/८३ सम्ममा औषधि प्रयोग गरेर छ हजार १६ जनाले सुरक्षित गर्भपतन गराएका छन् । सोही अवधिमा कुल १० हजार ४१ सेवाग्राहीमध्ये चार हजार २५ जनाले मात्रै शल्यक्रिया विधि अपनाएका थिए ।
जिल्लामा असुरक्षित गर्भपतनका कारण मृत्यु भएको घटना सरकारी अभिलेखमा नभए पनि सूचीकृत नभएका तथा निजी स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने जोखिम कायम रहेको सरोकारवालाहरू बताउँछन् । यस्ता घटनाको आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन ।
सरकारी स्वास्थ्य संस्थामा सेवा लिन जाँदा नाम दर्ता गर्नुपर्ने र व्यक्तिगत विवरण मागिने भएकाले गोपनीयताको चिन्ताले कतिपय महिला सूचीकृत नभएका संस्था वा योग्यता नपुगेका स्वास्थ्यकर्मीबाट सेवा लिन पुग्ने गरेको बताइएको छ ।


