
काठमाडौं- भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जना बिरामीले नियमित हेमोडायलासिस सेवा लिएका छन् ।
केन्द्रले सार्वजनिक गरेको वैशाख २७ गतेको दैनिक विवरणअनुसार बिहान, बेलुका, लेट इभिनिङ र रातिको सत्रमार्फत नियमित हेमोडायलासिस सेवा सञ्चालन गरिएको हो ।
विवरणअनुसार बिहान ४२ जना र बेलुका ४२ जनाले सेवा लिएका छन् भने लेट इभिनिङ तथा रातिको सत्रमा ३६–३६ जना बिरामीले हेमोडायलासिस गराएका छन् । यसरी नियमित सेवामार्फत कुल १५६ जनाले उपचार सेवा प्राप्त गरेका हुन् ।
त्यसैगरी आकस्मिक हेमोडायलासिस सेवा पाँच जना बिरामीलाई प्रदान गरिएको केन्द्रले जनाएको छ । विशेष हेमोडायलासिसअन्तर्गत सेरोपोजिटिभ बिरामीका लागि १५ वटा सत्र सञ्चालन गरिएको विवरणमा उल्लेख छ ।
केन्द्रको इन्पेसियन्ट वार्डतर्फ ६३ शय्यामध्ये ५२ शय्या भरिएका छन् भने ११ शय्या खाली रहेका छन् । सबैभन्दा बढी बिरामी नेफ्रोलोजी वार्डमा रहेका छन्, जहाँ उपलब्ध १२ वटै शय्या भरिएको केन्द्रले जनाएको छ ।
यस्तै प्रि–ट्रान्सप्लान्ट वार्डमा ११ जना, ट्रान्सप्लान्ट आईसीयूमा पाँच जना तथा पोस्ट ट्रान्सप्लान्ट वार्डमा आठ जना बिरामी उपचाररत रहेका छन् ।
रेडियोलोजी विभागमार्फत एकैदिन १७ वटा एक्स–रे सेवा प्रदान गरिएको छ । प्रयोगशालातर्फ भने कुल ३१२ वटा परीक्षण सम्पन्न भएका छन् ।
ती परीक्षणमध्ये हेमाटोलोजीका ११३, बायोकेमिस्ट्रीका ११३, इम्युनोलोजीका ३३ तथा माइक्रोबायोलोजीका १९ वटा परीक्षण गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार उक्त अवधिमा कुनै पनि वार्डमा बिरामीको मृत्यु भएको छैन ।


