
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव गरेको ९ सय ७७ जनाको नयाँ दरबन्दी थप गर्ने प्रक्रिया अगाडि बढेको छ। अर्थ मन्त्रालयले उक्त प्रस्ताव स्वीकृत गर्दै अब अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ।
अर्थ मन्त्रालयका स्वास्थ्य हेर्ने उपसचिव राजुप्रसाद प्याकुरेलका अनुसार स्वास्थ्य मन्त्रालयबाट आएको प्रस्ताव बुधबार स्वीकृत गरिएको हो। उनले क्याबिनेटबाट निर्णय भएपछि दरबन्दी थप प्रक्रिया अन्तिम टुंगोमा पुग्ने बताए।
स्वास्थ्य मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी लगायत पाँचौं तहदेखि ११औं तहसम्मका विभिन्न पदमा ९ सय ७७ जनाको स्थायी दरबन्दी स्वीकृत गर्न प्रस्ताव पठाएको थियो।
नेपालमा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थायी जनशक्ति अभावको समस्या रहँदै आएको छ। नयाँ दरबन्दी स्वीकृत भए स्वास्थ्य सेवामा देखिएको कर्मचारी अभाव केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति थप गर्न निरन्तर पहल गर्दै आएकी थिइन्। अब प्रस्तावको अन्तिम निर्णय मन्त्रिपरिषद्को बैठकबाट हुनेछ।


