
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स तथा स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधा उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न निजी मेडिकल तथा डेन्टल कलेजहरूलाई पुनः ताकेता गरेको छ।
नीति, योजना तथा अनुगमन महाशाखाले पत्र जारी गर्दै कात्तिक १५ गते सरोकारवाला पक्षहरूसँग भएको सहमति कार्यान्वयन गर्न पुनः ध्यानाकर्षण गराएको हो। यसअघि मन्त्रालयले गत मंसिर १५ र गत चैत २० गते पनि पत्राचार गरिसकेको जनाएको छ।
मन्त्रालयका अनुसार केही निजी मेडिकल तथा डेन्टल कलेज तथा अस्पतालहरूले आंशिक रूपमा सहमति कार्यान्वयन गरे पनि कतिपयले अझैसम्म न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराएका छैनन्। मन्त्रालयमा प्राप्त गुनासा तथा स्थलगत अनुगमनबाट यस्तो अवस्था देखिएको उल्लेख गरिएको छ।
पत्रमा सहमति बमोजिम नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक तुरुन्त उपलब्ध गराई पूर्ण रूपमा कार्यान्वयन गर्न/गराउन आग्रह गरिएको छ।


