

भक्तपुर- बागमती प्रदेश सरकारले विस्थापित सुकुम्बासीलाई राखिएको भक्तपुरका होल्डिङ सेन्टरहरूमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। भक्तपुर प्रादेशिक अस्पताल र ख्वप नगरपालिका अस्पतालको प्राविधिक सहयोगमा जनस्वास्थ्य कार्यालय भक्तपुरले आइतबार र सोमबार शिविर सञ्चालन गरेको हो।
शिविरका क्रममा केही सुकुम्बासीमा मानसिक स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्। एक स्वास्थ्यकर्मीका अनुसार कतिपय विस्थापितहरू चिन्ताबाट ग्रसित देखिएका छन् भने ३ जनामा अनिद्रा, शरीर अनियन्त्रित रूपमा काम्ने र झट्का लाग्ने गम्भीर लक्षण देखिएका छन्। यस्तै ४ जनामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ। शिविरमा उच्च रक्तचापका बिरामीहरू पहिचान गरिनुका साथै ३ जना मुटुरोगीसमेत फेला परेका छन्।
खरिपाटीस्थित होल्डिङ सेन्टरमा एक जनामा गम्भीर अल्कोहल विड्ड्रअल सिन्ड्रोम देखिएको छ। नियमित रूपमा मदिरा सेवन गर्ने व्यक्तिले अचानक छोड्दा यस्तो समस्या देखिने स्वास्थ्यकर्मीहरूले बताएका छन्। सोही सेन्टरमा एक जना ब्रेन स्ट्रोकका बिरामीसमेत भेटिएका छन्, जसलाई थप उपचार आवश्यक रहेको जनाइएको छ।
बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा रहेको सेन्टरमा एक गर्भवती महिला र डेढ महिनाको सुत्केरीसमेत पहिचान गरिएको छ। साथै, ४ वर्षमुनिका पाँच जना बालबालिका रहेको र उनीहरूका लागि पोषणयुक्त आहार तथा उचित हेरचाहको अभाव देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य परीक्षणका क्रममा अधिकांशमा आँखाको जलनको समस्या देखिएको छ, जसको मुख्य कारण सरसफाइको अभाव रहेको जनाइएको छ। शिविरमा बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकताका साथ स्वास्थ्य परीक्षण गरिएको थियो।
जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काका अनुसार शिविरमा स्वास्थ्य जोखिम मूल्यांकन, निःशुल्क औषधि वितरण र आवश्यक मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ। थप उपचार आवश्यक परेका व्यक्तिहरूलाई भक्तपुर प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने उनले जानकारी दिइन्।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले होल्डिङ सेन्टरहरूमा स्वास्थ्य सेवाको आवश्यकता देखिएकाले बिदाको दिनमा पनि स्वास्थ्यकर्मी परिचालन गरिएको बताइन्। उपचार अभाव हुन नदिन प्रदेश सरकारले आवश्यक सबै व्यवस्था मिलाएको उनको भनाइ छ।
सरकारले काठमाडौंका नदीकिनारमा रहेका अव्यवस्थित सुकुम्बासी बस्ती हटाएपछि विस्थापितहरूलाई व्यवस्थापन गर्न भक्तपुरमा दुईवटा होल्डिङ सेन्टर स्थापना गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी स्वरूप शर्माका अनुसार खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रमा १६८ जना र बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा ४७ जना सुकुम्बासीलाई राखिएको छ।



