

काठमाडौं । नेपाल औषधि व्यवसायी संघले बाँकेको कोहलपुर नगरपालिका–११ स्थित थापा मेडिकलका सञ्चालक गणेशबहादुर थापामाथि औषधि पसलभित्रै प्रवेश गरेर कुटपिट तथा दुर्व्यवहार गरिएको घटनाको विरोध गरेको छ।
संघले असोज १७ गते थापा मेडिकलभित्र प्रवेश गरी एक समूहले सञ्चालक थापामाथि कुटपिट, धरपकड तथा गालीगलौज गरेको र घटनालाई व्यक्तिगत तथा व्यावसायिक चरित्रमा आँच पुग्ने गरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले कानुनविपरीत हुने कुनै पनि कार्यको अनुसन्धान, अभियोजन तथा कारबाही गर्ने व्यवस्था प्रचलित कानुनमै रहेको उल्लेख गरेको छ। सम्बन्धित व्यवसायीबाट कुनै गलत कार्य भएको भए निष्पक्ष छानबिन तथा अनुसन्धानबाट सत्यतथ्य पुष्टि गरी आवश्यक कानुनी कारबाही हुनुपर्ने संघको भनाइ छ।
औषधि तथा स्वास्थ्य सेवासम्बन्धी कुनै विषयमा असहमति वा गुनासो भए सम्बन्धित निकायमार्फत कानुनी प्रक्रियाबाट समाधान खोजिनुपर्ने संघले जनाएको छ। तर, अनुसन्धानबाट आरोप पुष्टि नभइसकेको विषयलाई लिएर कानुन हातमा लिई व्यवसायीमाथि भौतिक आक्रमण गर्नु निन्दनीय भएको संघको ठहर छ।
यस्ता गैरकानुनी गतिविधिले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दिनरात बिरामीको सेवामा खटिने औषधि व्यवसायीको व्यक्तिगत तथा पेशागत सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको संघले जनाएको छ।
पीडितलाई न्याय दिलाउनु सरकारको महत्वपूर्ण दायित्व भए पनि प्रत्येक नागरिकको जीउधनको रक्षा गर्नु सरकारको उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेको संघले जनाएको छ। त्यसैले घटनाको निष्पक्ष, सूक्ष्म र न्यायोचित अनुसन्धान गरी व्यवसायीमाथि गैरकानुनी रूपमा भौतिक आक्रमण तथा अभद्र व्यवहार गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न संघले सरकार तथा स्थानीय प्रशासनसँग माग गरेको छ।



