

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारीसाधनको नाममा इन्धन दुरुपयोग भएको भन्ने आरोप निराधार रहेको स्पष्ट पारेको छ।
मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनले कर्मचारीबाट इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको हो। सञ्चारमाध्यममा जलेका सवारीसाधनको नाममा इन्धन दुरुपयोग भएको खबर आएपछि मन्त्रालयले वैशाख १५ गते छानबिन समिति गठन गरेको थियो।
समितिले जलेका सवारीसाधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धन खपतसम्बन्धी अभिलेख, भुक्तानी विवरणलगायत कागजातको अध्ययन तथा विश्लेषण गरेको थियो। सोही आधारमा जलेर नष्ट भएका सवारीसाधनको नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालिएको सह–प्रवक्ता अधिकारीले जानकारी दिए।
मन्त्रालयले तथ्यमा आधारित सूचनामात्र सार्वजनिक गर्न र अपुष्ट दाबीप्रति सचेत रहन पनि सरोकारवालालाई आग्रह गरेको छ।



