
काठमाडौँ । सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार राजधानीका प्रमुख सरकारी अस्पतालहरूमा ओपीडी सेवा लिन आउने बिरामीको भीड असामान्य रूपमा बढेको छ। शनिबार र आइतबार बिदा दिने सरकारी निर्णयपछि सोमबार एकै दिन उपचारका लागि अस्पताल पुग्नेको संख्या ह्वात्तै बढ्दा स्वास्थ्य सेवा व्यवस्थापनमा थप दबाब परेको हो।
राजधानीका वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायतका ठूला सरकारी अस्पतालमा बिहानैदेखि बिरामीहरूको लामो लाइन देखिएको छ। सामान्य जाँचदेखि जटिल रोगको उपचारसम्मका लागि एकै स्थानमा निर्भर रहनुपर्ने अवस्थाले भीड नियन्त्रणभन्दा बाहिर गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
चिकित्सकहरूका अनुसार एक जना चिकित्सकले दैनिक औसत १०० देखि १५० जना बिरामी जाँच गर्नुपर्ने अवस्था छ, जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै बढी हो। सामान्यतया एक चिकित्सकले दैनिक ३० देखि ४० जना बिरामीलाई मात्र गुणस्तरीय सेवा दिन सकिने मानिन्छ। तर काठमाडौँका सरकारी अस्पतालमा यो संख्या तीनदेखि चार गुणासम्म बढी रहेको देखिन्छ।
अत्यधिक भीडका कारण चिकित्सकहरूले प्रत्येक बिरामीलाई पर्याप्त समय दिन नसक्ने अवस्था सिर्जना भएको छ, जसले उपचारको गुणस्तरमा असर पर्ने जोखिम बढाएको स्वास्थ्य विज्ञहरूको भनाइ छ। निजी अस्पतालको महँगो शुल्कका कारण भने आर्थिक रूपमा कमजोर तथा न्यून आय भएका नागरिक सरकारी अस्पतालमै निर्भर हुन बाध्य छन्।
एक सामान्य परीक्षणदेखि उपचारसम्म निजी अस्पतालमा हजारौँ रुपैयाँ लाग्ने भएकाले धेरै सर्वसाधारणका लागि सरकारी अस्पताल नै एक मात्र विकल्प बनेको छ।
स्वास्थ्य सेवा विभागका एक अधिकारीका अनुसार, सरकारी अस्पतालमा देखिएको भीड व्यवस्थापन गर्न जनशक्ति, उपकरण र पूर्वाधार विस्तार अत्यावश्यक छ। उनका अनुसार, “बिरामीको चाप घटाउन प्राथमिक स्वास्थ्य केन्द्र र प्रदेशस्तरका अस्पताललाई सुदृढ बनाउनु आवश्यक छ।”
स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूले भने स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, ग्रामीण स्वास्थ्य सेवाको विस्तार र चिकित्सकको संख्या वृद्धि नगरेसम्म काठमाडौँका सरकारी अस्पतालमा देखिएको भीड समस्या दीर्घकालीन रूपमा समाधान हुन नसक्ने बताएका छन्।


