
काठमाडौं – नेपाल चिकित्सक संघ (एनएमए) को जारी निर्वाचनमा उपत्यकाभित्र पहिलो दिन अपेक्षाभन्दा कम मतदान भएको छ। शुक्रबार सम्पन्न पहिलो दिनको मतदानमा कुल १ हजार २ सय २३ मत खसेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचनअघि उपत्यकामा करिब ४ हजारदेखि ५ हजारसम्म मत खस्ने अनुमान गरिए पनि पहिलो दिनको सहभागिता त्यसभन्दा न्यून रह्यो। शुक्रबार मात्रै १ हजार ५ सयभन्दा बढी मत खस्ने प्रक्षेपण गरिए पनि वास्तविक मतदान त्यसभन्दा कम देखिएको हो।
श्रमिक दिवसको सार्वजनिक बिदाका बाबजुद बिहीबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गरेपछि धेरै चिकित्सक कार्यस्थलमै व्यस्त हुँदा मतदानमा अपेक्षित सहभागिता हुन नसकेको बताइएको छ।
मुख्य निर्वाचन अधिकृत डा. रितेश शाक्यका अनुसार निर्वाचन शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको हो। संघको निर्वाचनमा कुल १६ हजार १ सय मतदाता रहेका छन् भने ५ देखि ६ हजारसम्म मत खस्ने अनुमान गरिएको छ। १७ वटा मुख्य पदका लागि ५७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
मतदान शनिबार बेलुका ६ बजेसम्म जारी रहनेछ र सोही दिनदेखि मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ। सम्पूर्ण मतगणना दुई दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
निर्वाचन समितिका अनुसार दोस्रो दिन अर्थात् शनिबार सहभागिता बढ्ने अपेक्षा गरिएको छ। पहिलो दिन विभिन्न कारणले मतदान गर्न नपाएका चिकित्सकहरू दोस्रो दिन मतदानमा सहभागी हुने विश्वास लिइएको छ।
उपत्यकाबाहिर वैशाख ४ र ५ गते २२ वटा मतदान केन्द्रमा सम्पन्न मतदानमा करिब ४ हजार २ सय मत खसेको पनि शाक्यले जनाएका छन्।



