
हुम्ला- हिमाली जिल्ला हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य क्षेत्र सतर्क बनेको छ। जिल्ला अस्पतालमा उपचाररत एक बिरामीमा गरिएको स्वाब परीक्षणमा डेङ्गु संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीका अनुसार डेङ्गु पोजिटिभ देखिएका बिरामी सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय मोती सुनार हुन्। उनी तीन दिनअघि स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल पुगेका थिए।
हाल सुनारलाई अस्पतालमै भर्ना गरेर उपचार भइरहेको छ। डेङ्गु पुष्टि भएसँगै केही दिन अझै निगरानीमा राखेर उपचार गरिने चिकित्सक तिवारीले जानकारी दिए।
विशेष कुरा के छ भने संक्रमित सुनार हालसम्म जिल्ला बाहिर ननिस्किएको पाइएको छ। यसले हुम्लामै डेङ्गु संक्रमण फैलिएको संकेत देखिएको चिकित्सकहरूको भनाइ छ।
मौसममा आएको परिवर्तन, तापक्रम वृद्धि र लामखुट्टेको संख्या बढ्न थालेसँगै यस्तो संक्रमण देखिएको हुन सक्ने अनुमान गरिएको छ। स्वास्थ्य अधिकारीहरूले यसलाई गम्भीर रूपमा लिँदै सतर्कता अपनाउन आग्रह गरेका छन्।



