
सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका–२, नवलपुर जुटपानी क्षेत्रमा अवैध रूपमा गर्भपतन गराउँदै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ निवासी ४५ वर्षीय लालबाबु राय यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यादवलाई म्याद थप गरेर इलाका प्रहरी कार्यालय नवलपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। सूचना अधिकारी तथा डिएसपी सरोज राईले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।
नेपालको कानुनअनुसार महिलाले अधिकारप्राप्त तथा सूचीकृत स्वास्थ्य संस्थामा १० हप्तासम्मको गर्भ सुरक्षित रूपमा गर्भपतन गराउन पाउने व्यवस्था छ। यसका लागि सम्बन्धित स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने प्रावधान रहेको छ।
तर पक्राउ परेका यादवले कुनै पनि निकायमा दर्ता नगरी नवलपुरस्थित नवजीवन विद्याश्रम माध्यमिक विद्यालय नजिक भाडाको घरमा गोप्य रूपमा क्लिनिक सञ्चालन गर्दै आएका थिए।
अनुगमनका क्रममा उक्त स्थानबाट गर्भपतनमा प्रयोग हुने औजार तथा औषधि समेत बरामद गरिएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले बताएका छन्।
अनुगमन टोलीले उक्त क्लिनिक तत्काल सिल गरी सञ्चालकलाई नियन्त्रणमा लिएको हो।



