
बाँके- बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि हातपातको प्रयास तथा दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेपछि आन्दोलनमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काममा फर्किएका छन् ।
घटनापछि चिकित्सकहरूले आकस्मिकबाहेकका सबै सेवा बन्द गर्दै आन्दोलन सुरु गरेका थिए । तर, घटनामा संलग्नमध्ये एक जना पक्राउ परेपछि स्वास्थ्यकर्मीहरू पुनः नियमित ड्युटीमा फर्किएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीले जानकारी दिए ।
डा. सुवेदीका अनुसार चिकित्सकमाथि हातपातको प्रयास र दुर्व्यवहार गर्ने दुई जनाविरुद्ध उजुरी दर्ता गरिएको छ । तीमध्ये एक जना पक्राउ परिसकेका छन् भने अर्का एक जना हाल किरिया बसेका कारण पक्राउ प्रक्रियामा नरहेको उनले बताए ।
सोमबार बैजनाथ गाउँपालिका–६ निवासी ६२ वर्षीया दिलसरा विकको मृत्यु भएपछि उनका आफन्तसहितको समूह अस्पताल पुगेको थियो । उक्त समूहले डा. सुवेदीको कार्यकक्षमै प्रवेश गरी हातपातको प्रयास गर्नुका साथै गालीगलौज र दुर्व्यवहार गरेको अस्पताल प्रशासनले जनाएको छ ।
त्यस क्रममा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेलगायत चिकित्सकलाई ज्यान मार्ने धम्कीसमेत दिइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
वैशाख ६ गते उपचारका लागि भर्ना भएकी दिलसरा विकको वैशाख १३ गते मृत्यु भएको थियो । घटनापछि चिकित्सकमाथि आक्रमण प्रयास भएपछि अस्पतालको सेवा प्रभावित बनेको थियो ।
चिकित्सकहरूको आन्दोलनका कारण भेरी अस्पतालमा ओपीडी लगायतका सेवा केही समय बन्द हुँदा उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका थिए । हाल भने सबै सेवा पुनः सञ्चालनमा आएका छन् ।




