
काठमाडौँ- अत्यधिक गर्मी तथा तातो हावाको लहर (लु)बाट जोगिन राष्ट्रिय स्तरको शीघ्र प्रतिकार्य कार्ययोजना निर्माणका लागि सुझाव सङ्कलन गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्दै ‘पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ को मस्यौदामाथि सुझाव लिएको हो।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार कार्यक्रममा विभिन्न मन्त्रालय, विभाग, सुरक्षा निकाय, सरकारी तथा साझेदार संस्थाहरू, नेपाल स्काउटलगायत सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
छलफलमा सहभागीहरूले अत्यधिक गर्मी र तातो हावाको लहरबाट हुने जोखिम न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन दुवै प्रकारका योजना आवश्यक रहेकोमा जोड दिएका छन्। उनीहरूले सार्वजनिक स्थानमा माटोका भाँडामा पानी राख्ने व्यवस्था, स्थानीय ज्ञानको उपयोग गर्ने तथा अत्यधिक गर्मीको अवस्था हेरी विद्यालय बन्द गर्नेसम्मका उपायहरू अपनाउन सुझाव दिएका छन्।
प्राधिकरणका अनुसार प्राप्त सुझावलाई एकीकृत गरी कार्ययोजनालाई कार्यान्वयन चरणमा लैजाने तयारी गरिएको छ।
पछिल्लो समय देशभर तापक्रम बढ्दै गइरहेको र केही जिल्लामा ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको उल्लेख गर्दै प्राधिकरणले सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।



