
काठमाडौं- नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थाहरूमा सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ। साथै, अराजक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्नुपर्नेमा संघले जोड दिएको छ।
संघका महासचिव डा. सञ्जीव तिवारीले बिहीबार जारी गरेको विज्ञप्तिमा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकमाथि दुर्व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
विज्ञप्तिअनुसार क्यान्टिनमा खाजा खाइरहेका चिकित्सकमाथि केही युवा अभियन्ता भनिएका व्यक्तिहरूले दुर्व्यवहार गरेको तथा आक्रमणको धम्की दिई भिडियो खिचेर सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाइएको आरोप लगाइएको छ।
संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आधारहीन आरोप लगाई सामाजिक सञ्जालमा अफवाह फैलाउने कार्यले समाजमा भ्रम सिर्जना गर्ने मात्र नभई स्वास्थ्य सेवा प्रवाहमा समेत असर पार्ने बताएको छ।
यस्ता गतिविधिले चिकित्सक र सेवाग्राहीबीच दूरी बढ्ने खतरा रहेको भन्दै संघले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सतर्कता र कानुनी कदम चाल्न सरकारसँग आग्रह गरेको छ।



