
काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका निकायमा ठूलो संख्यामा दरबन्दी थप गर्ने तयारी अघि बढाएको छ । स्वास्थ्य सेवा सुधार र जनशक्ति अभाव कम गर्ने लक्ष्यसहित ९७४ नयाँ दरबन्दी थप्ने विषयमा स्वास्थ्य र अर्थ मन्त्रालयबीच छलफल भइरहेको स्रोतले जनाएको छ ।
प्रस्तावअनुसार एमबीबीएस उत्तीर्ण ५३४ जनालाई समेट्ने गरी दरबन्दी विस्तार गरिने तयारी छ । मन्त्रालयले हाल करिब २२ सय नयाँ दरबन्दी सिर्जना गर्ने योजना बनाएको छ भने यसलाई क्रमशः बढाएर सात हजारभन्दा बढी पुर्याउने दीर्घकालीन लक्ष्य राखिएको छ ।
स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उच्च तहका कर्मचारी, नर्स तथा अन्य स्वास्थ्यकर्मीको अभाव रहँदै आएको छ । हाल करिब पाँच हजार दरबन्दी रिक्त हुँदा सेवा प्रवाहमा गम्भीर दबाब परेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
यसअघि पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले पाँच वर्षभित्र १२ हजार जनशक्ति थप्ने र पहिलो वर्षमै २ हजार १०२ कर्मचारी नियुक्त गर्ने योजना अघि सारेका थिए । तर अर्थ मन्त्रालयको स्वीकृति नपाउँदा उक्त योजना कार्यान्वयन हुन सकेको थिएन ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावकारी सेवा प्रवाह, अस्पतालमा चाप घटाउने र नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन दरबन्दी थप अपरिहार्य बनेको छ ।



