
काठमाडाैं- गर्भपतन गराउने क्रममा २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनामा नेपाल मेडिकल काउन्सिलले छानबिन समिति गठन गरेको छ ।
काउन्सिलले सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा बुधबार ६ सदस्यीय समिति गठन गरेको हो । घटनालाई गम्भीर रूपमा लिँदै मृतकका परिवारको आग्रहअनुसार निष्पक्ष छानबिनका लागि समिति बनाइएको जनाइएको छ ।
समितिमा स्त्री रोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, कानुन व्यवसायी गोविन्द मरासिनी र नागरिक समाजका प्रतिनिधि दिनेश पाण्डे सदस्य रहेका छन् । समितिलाई घटनास्थलमा पुगेर अनुगमन तथा निरीक्षण गरी विस्तृत प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
पाल्पा घर भई हाल रुपन्देहीको तिलोत्तमा–शंकरनगरमा बस्दै आएकी पाण्डेको आइतबार मृत्यु भएको हो । मृतकका श्रीमान प्रकाश पाण्डेका अनुसार १२ हप्ताको गर्भ रहेको अवस्थामा बच्चा असामान्य रहेको भन्दै बुटवलस्थित खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकमा गर्भपतन गराउने क्रममा उनको ज्यान गएको हो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना डाक्टरसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।




