
काठमाडौं- चितवनको रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले आफ्नै तलब–भत्ताबाट ३७ अतिविपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएका छन् । वडा कार्यालयको सिफारिसका आधारमा छनोट गरिएका ती परिवारको बिमा शुल्क उनले पछिल्लो तीन महिनाको सेवा सुविधाबाट व्यहोरेका हुन् ।
सापकोटाले यसअघि पनि आफ्नो तलब–भत्ता र ‘मायाको चिनो’बाट संकलित रकम प्रयोग गर्दै करिब २०० परिवारको स्वास्थ्य बिमा गरिसकेका छन् । उनका अनुसार वार्षिक रूपमा करिब ३५०० परिवारलाई बिमामा समेट्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको भए पनि ‘जेनजी आन्दोलन’पछि उक्त अभियान रोकिएको छ ।
नगरपालिकाले अनावश्यक खर्च कटौती गर्न औपचारिक कार्यक्रममा खादा तथा मायाको चिनो नलिने नीति लागू गरेको छ । सोहीअनुसार विभिन्न संघ–संस्थाबाट प्राप्त हुने रकम स्वास्थ्य शाखाको कोषमा जम्मा गरी स्वास्थ्य बिमा र अन्य सामाजिक कार्यमा प्रयोग गरिँदै आएको छ ।
यसअघि सापकोटाले आफ्नै तीन महिनाको तलबबाट रत्ननगर–१२ का विद्यार्थीलाई कापी, कलम र ट्र्याकसुट वितरण गरेका थिए । उनले व्यक्तिगत रूपमा १०० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गर्दै आएका छन् ।
“निःशुल्क स्वास्थ्य र शिक्षा जनताको नैसर्गिक अधिकार हो,” सापकोटाले भने, “राज्यले सबैलाई यस्तो सेवा सुनिश्चित गर्नुपर्छ ।” आगामी बजेटमार्फत विपन्नका लागि थप प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रम ल्याउने लक्ष्य रहेको उनले बताए ।
नगरपालिकाका अनुसार विपन्न नागरिकले रत्ननगर बकुलहर अस्पतालबाट स्वास्थ्य बिमाको सुविधा लिन सक्नेछन् । उपचारमा समस्या हुनेका लागि ३० लाख रुपैयाँको ‘स्वास्थ्य उपचार अक्षयकोष’ स्थापना गरिएको छ । साथै भरतपुर अस्पतालमा विपन्न उपचार कोष, क्यान्सर अस्पताल चितवनमा थप २५ हजार रुपैयाँसम्म सहयोग र रत्ननगर–२ मा निःशुल्क ब्लड बैंक सेवा सञ्चालनमा रहेको छ ।



