
काठमाडौं – पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिनमा पनि सरकारी अस्पतालहरूमा ओपिडी सेवा निरन्तर सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन्।
उनले बिदाको समयमा ओपिडी सेवा बन्द हुँदा बिरामीहरू अनावश्यक दुःख भोग्न बाध्य भएको उल्लेख गर्दै यस्तो व्यवस्थाले स्वास्थ्य सेवा झन् जटिल बनेको बताएका छन्। सरकारी अस्पताल बन्द हुँदा नागरिकहरू निजी अस्पतालतर्फ जान बाध्य हुने र त्यसले उनीहरूमा थप आर्थिक भार पर्ने उनको भनाइ छ।
पौडेलका अनुसार सर्वसुलभ, सुलभ र पहुँचयोग्य हुनुपर्ने स्वास्थ्य सेवा ओपिडी बन्द हुँदा सीमित बन्दै गएको छ। यसले विशेषगरी विपन्न र दुर्गम क्षेत्रका नागरिकहरूलाई बढी असर गरिरहेको उनले औंल्याएका छन्।
त्यसैले उनले स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न र बिरामीको समस्या कम गर्न सार्वजनिक बिदामा पनि ओपिडी सेवा नियमित रूपमा सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।



