

काभ्रे- काभ्रेको बेथानचोक गाउँपालिका–३ मा निर्माण गरिएको बेथानचोक आधारभूत अस्पताल सञ्चालनमा आउन नसक्दा अलपत्र परेको छ । निर्माण सम्पन्न गरी ठेकेदारले हस्तान्तरण गरेको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि अस्पताल सेवा सुरु हुन सकेको छैन ।
अस्पताल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा सामान्य उपचारका लागि समेत बनेपासम्म धाउनुपर्ने बाध्यतामा छन् । स्थानीय केशवबहादुर बस्नेतका अनुसार भवन तयार भइसके पनि त्यसको उचित संरक्षण र व्यवस्थापन हुन सकेको छैन । “एक वर्षभन्दा बढी भयो हस्तान्तरण भएको, तर अहिलेसम्म सञ्चालनमा आएको छैन,” उनले भने, “सुरक्षा गार्ड छैन, जडान गरिएको सीसीटीभी चलाइएको छैन, झ्यालका सिसा फुटेका छन् । पालिकाले जिम्मा लिएर पनि बेवास्ता गरेको छ ।”
उनले अस्पताल सञ्चालनमा आए स्थानीयलाई सहज हुने र उपचारका लागि टाढा जानुपर्ने समस्या अन्त्य हुने बताए ।
बेथानचोक गाउँपालिका–२ का सूचना अधिकृत ज्ञानप्रसाद तिमल्सिनाले भने बजेट अभावका कारण अस्पताल सञ्चालनमा ल्याउन नसकिएको बताएका छन् । उनका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति अभाव रहेको छ, जसका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरिएको छ ।
“करिब नौ करोड रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो, ठेकेदारको कुनै कमजोरी छैन,” उनले भने, “तर आवश्यक संरचना थप्ने, सामग्री व्यवस्थापन गर्ने र जनशक्ति उपलब्ध गराउने जिम्मा पालिकाकै हो । बाढीपहिरोका कारण बजेट अभाव हुँदा ती काम अघि बढ्न सकेनन् ।”
अस्पताल तत्काल सञ्चालनमा आउन नसके पनि अब यसको संरक्षणमा ध्यान दिइने उनले जानकारी दिएका छन् ।


