
बुटवल- बुटवलस्थित क्लिनिकमा उपचारका क्रममा गम्भीर लापरबाही भएको भन्दै एक गर्भवती महिलाको मृत्यु भएपछि प्रहरीमा किटानी जाहेरी परेको छ। घटनापछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
पाल्पाको बगनासकाली गाउँपालिका–२ की ३१ वर्षीया गीता पाण्डेको गर्भपतन प्रक्रियाका क्रममा स्वास्थ्य अवस्था बिग्रिएर मृत्यु भएको परिवारको आरोप छ। उनी करिब १२ हप्ताको गर्भ अस्वस्थ भएपछि उपचारका लागि बुटवल आएकी थिइन्।
आइतबार साँझ पाण्डेको मृत्यु भएपछि आक्रोशित आफन्तले पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दर्ता गरेका छन्। मृतक रेडक्रस सोसाइटीकी कर्मचारीसमेत रहेको जनाइएको छ।
चैत २७ गते प्रारम्भिक जाँच गराएकी पाण्डे वैशाख ५ गते फलोअपका लागि बुटवलस्थित खत्री नर्सिङ होम पुगेकी थिइन्। त्यहाँ चिकित्सकले गर्भपतन आवश्यक भए पनि आफ्नै क्लिनिकमा सम्भव नभएको भन्दै अन्यत्र जान सुझाव दिएका थिए। त्यसपछि उनीहरू हस्पिटल लाइनस्थित जोनल फार्मेसी क्लिनिक पुगेका थिए।
त्यहाँ चिकित्सक नभएको भन्दै इन्दुलेखा क्लिनिकमा पठाइएपछि औषधि प्रयोग गरिएको र त्यसपछि उनको स्वास्थ्य अवस्था अचानक गम्भीर बनेको परिवारको आरोप छ।
अवस्था बिग्रिएपछि उनलाई लुम्बिनी सिटी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
परिवारले एक क्लिनिकबाट अर्कोमा पठाउने, साथै असुरक्षित तरिकाले औषधि प्रयोग गर्ने कार्यले मृत्यु भएको दाबी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। मृतकका श्रीमान् सरकारी अधिकृत रहेको र उनीहरूको पाँच वर्षको एक सन्तान रहेको जनाइएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार जोनल हेल्थ क्लिनिककी सन्ध्या बस्नेत, जोनल फार्मेसी क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य दुई जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने तयारी भइरहेको छ।


