
काठमाडौं- नेपालमा न्युरोसर्जरी सेवाको आधारशिला राख्ने वरिष्ठ चिकित्सक डा. दिनेश नाथ गंगोलको निधन भएको छ। ९२ वर्षका गंगोलको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो। आजै उनको दाहसंस्कार गर्ने तयारी गरिएको परिवारले जनाएको छ।
उनको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको टिप्पणी चिकित्सक समुदायले गरेका छन्।
डा. गंगोलले आफ्नो दीर्घ चिकित्सकीय जीवनमा न्युरोसर्जरी मात्र नभई पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीमा ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक सम्पन्न गरेका थिए। सीमित स्रोत–साधनका बीच जोखिम मोलेर नयाँ शल्य विधिहरूको सुरुवात गर्ने अग्रणी चिकित्सकमध्ये उनी एक थिए।
उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का संस्थापक निर्देशकसमेत रहेका थिए। करिब चार दशकसम्म वीर अस्पतालमा सेवा दिएका उनले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया सम्पन्न गरेका थिए।
वि.सं. १९८९ चैतमा काठमाडौंमा जन्मिएका गंगोलले त्रिचन्द्र कलेजबाट बीएस्सी अध्ययन पूरा गरेका थिए। त्यसपछि भारतको दरभंगा मेडिकल कलेजबाट एमबीबीएस र बम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरेका थिए। सन् १९६१ मा नेपाल फर्किएपछि उनले वीर अस्पतालबाट आफ्नो सेवा यात्रा सुरु गरेका थिए।
नेपाल चिकित्सक संघले श्रद्धाञ्जली व्यक्त गर्दै डा. गंगोलको निधनले नेपाली चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ।


